२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

ज्योतिनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न माग

शुक्रवार , आश्विन ८, २०७८

तिलोत्तमा, ८ असोज ।
बुटवल ज्योतिनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न सरोकारवालाहरुले माग गरेका छन् । पहिरो प्रभावित क्षेत्रका सरोकारवाला, विभिन्न संघ–संस्था, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, पीडित परिवारको शुक्रबार बसेको बृहत बैठकले प्रदेश सरकार र संघीय सरकारले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने भन्दै पहिरो नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो ।

ज्योतिनगर क्षेत्र विकास परिषदका अध्यक्ष सहदेव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सहभागी सरोकारवालाहरुले पहिरो नियन्त्रणका लागि विभिन्न सुझावहरु दिएका थिए । बुटवल उपमहानगरपालिका, प्रदेश  सरकार, संघीय सरकारसँग पहिरो नियन्त्रणका लागि आवश्यक कार्य गर्न माग गरिएको विकास परिषदका संस्थापक अध्यक्ष तथा चुरे तिनाउ विकास मञ्चका संयोजक कमल गौतमले बताए । उनका अनुसार अन्य कामलाई केही समयका लागि थाती राखेर  सरकार, राजनीतिक दलहरु, उद्योग वाणिज्य सघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ लगायत संघ–संस्थाको पहिलो एजेण्डा पहिरो नियन्त्रण हुनुपर्ने बैठकले ठहर गरेको छ ।

ज्योतिनगर क्षेत्रमा तत्कालै प्राविधिक खटाइ पानीको मुललाई पाइपमार्फत सुरक्षित ढंगले व्यवस्थापन गर्नुपर्ने र सरकारले तत्कालै विशेषज्ञ खटाइ पहिरो नियन्त्रणको लागि गुरुयोजना बनाइ कार्य गर्नुपर्ने बैठकले माग गरेको छ । चुरेमा घाँस दाउरा काट्ने, बाख्रा, गाइ चराउनेमाथि कडा कारवाही गर्ने निर्णय गर्दै बैठकले डम्पिङ भएको ढुंगा लेदोलाई फाल्ने काम बुटवल उपमहानगरपालिकाले गरेकोमा धन्यवाद दिएको छ ।

उक्त कामलाई बीव्रता दिन बजेटको अभाव हुन नदिन प्रदेश  सरकारले अविलम्ब सहयोग गर्नुपर्नेमा जोड दिंदै बैठकले उक्त क्षेत्रमा पहिरो निम्त्याउने ठुला रुख कटान गर्न प्रदेश वन मन्त्रालयले पहल गर्नुपर्ने, विस्थापित तथा बस्न अयोग्य भएका परिवारलाई घरसहित उपयुक्त स्थानमा लालपूर्जासहित स्थानान्तण गर्नुपर्ने र निजहरुलाई स्थानान्तरण नगर्दासम्म कोठा भाडा, आवश्यक सामग्रीको लागि आर्थिक सहयोग गर्नुपर्ने, प्रादेशिक अस्पताल  बुटवलमा निःशुल्क स्वास्थ्य उपचार हुनुपर्ने, विद्युतको महशुल, टेलिफोन महशुल मिनाहा हुनुपर्ने माग गरेको छ । त्यस्तै निजहरुले कर्जा लिएको भए बैक, वित्तीय, सहकारी संस्थाले लिएको ब्याजदरमा छुट हुनुपर्ने, विद्यालयले लिएको शुल्क मिनाहा गर्नुपर्ने, परिवारको एक सदस्यलाई स्वदेशमा वा विदेशमा सरकारी कोटामा रोजगार दिनुपर्ने निर्णय बैठकले गरेको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि भएको भौतिक हमलाप्रति गम्भिर दुःख व्यक्त गर्दै बैठकले उक्त घटना सुनियोजित नभएको ठहर गर्दै घटनामा संलग्न गणेश पंगेनीलाई थुनामुक्त गर्न माग गरेको छ । भेलामा बुटवल–३ का कार्यवाहक वडाअध्यक्ष  लिला श्रेष्ठले आवश्यक समन्वय र सहकार्य गर्न वडा कार्यालय तयार रहेको बताउँदै उपमहानगरले सक्दो काम गरेको र गर्ने बताए ।

भेलामा घनश्याम चापागाई, पदम रिजाल, कृष्ण पछाई, वडा सदस्य चिन बहादुर गुरुङ, विष्णु गुरुङ, कमल केसी, टेकलाल अर्याल, नेत्र आचार्य, वडा सदस्य सरस्वती कुँवर, सुन्दर गुरुङ, कृष्ण पाण्डे, भलाई कोषका उपाध्यक्ष छवि थापा, विष्णु केसी, विनोद पौडेल,  नारायण रानाभाट लगायतले आफ्नो धारणा राखेका थिए ।