
शुक्रवार , आश्विन ८, २०७८
भैरहवा, ८ असोज ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भैरहवामा शापु रोगबारे सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विश्व दृष्टि दिवस–२०२१ को अवसरमा कार्यक्रम गरिएको श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले शापु रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान लुम्बिनी प्रदेशकै प्रमुख जिम्मेवारी बोकेको संस्था भएकाले प्रदेशका नागरिकलाई शापु रोगबारे जानकारी गराउने संस्थाले आफ्नो दायित्वको रुपमा बुझेको बताए ।
अस्पतालका चिफ मेडिकल डाइरेक्टर रेटिना विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्र लामिछानेले शापु रोग अहिलेसम्मकै सबैभन्दा बढी आँदा खराब गर्ने रोगको रुपमा देखिएको बताए । उनले प्राय बच्चामा हुने शापु रोग आँखाको कालो नानीको बीचमा सेतो देखिने बताए । प्रा.डा. लामिछानेले अस्पतालमा हालसम्म १६ वटा शापु रोगका बिरामी आएको बताए । उनले बिरामी सुरुको अवस्थामा आए उपचारमा सहज हुने भए पनि ढिला आएको अवस्थामा भने समस्या हुने बताए ।
त्यस्तै अस्पतालका बाह्य कार्यक्रम निर्देशक प्रा.डा. कबिन्द्र बज्राचार्यले शापु रोगविरुद्ध हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमको उद्देश्यमाथि अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले प्रकाश पारेका थिए ।
आँखामा लाग्ने शापु रोग के हो ?
शापु एक आँखामा लाग्ने दृष्टिबिहीन गराउने रोग हो । यो रोग हाम्रा नेपाली बालबालिकाहरुमा वि.सं. २०३२ (सन् १९७५) देखि देखा परेको हो । यो रोग प्राय एक वर्ष विराएर जोडी वर्षको वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्यपहाडी भेगमा महामारीको रुपमा देखा पदैै आएको छ । यो रोगको लक्षणहरु देखा परेको २४ देखि २८ घण्टाभित्रै उपचार नपाएको खण्डमा मानिसक पूर्ण रुपमा दृष्टिबिहीन हुन सक्छ । आकस्मिक मौसमी रुपमा देखा पर्ने यो रोग हाम्रो बाल अन्धोपनको मुख्य कारणको रुपमा देखा पर्दै आएको छ । समयमै यसबाट हुन सक्ने खतरा हाम्रो आफ्नै घरदैलोबाट नै यस रोगको बारेमा जानकारी, रोकथाम तथा निदानका उपायबारे सचेत हुन नितान्त जरुरी देखिन्छ ।
शापु रोग हुने कारण
हालसम्म सेता पुतलीलाई शापुको कारकको रुपमा प्राय जोडिने गरिएको छ । तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुमा सोत यो रोग देखा परेको अवस्था छ । यसरी नै यसलाई सुक्ष्म रुपमा अध्ययन गर्दै जाँदा सुक्ष्म जीवाणु एवं अन्य जीवाणु समेत रहेको पाइएको छ । तर पनि यो रोगको कारण के हो भन्ने अझै अध्ययन गर्न बाँकी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij