
बिहिवार , आश्विन ७, २०७८
बुटवल, ७ असोज ।
घरायसी कामकाजमा व्यस्त रहने महिलाहरुलाई लक्षित गरी देवदहमा आयोजना गरिएको तीनमहिने निःशुल्क सिलाईकटाई तालिम सम्पन्न भएको छ । देवदह नगरपालिकास्थित श्री चेली कृषि सहकारी सस्थाको आयोजनामा रोटरी क्लब अफ बुटवल डाउनटाउनको सहयोग भएको कार्यक्रमको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेको सिपलाई व्यवसायिक रुपमा व्यवहारमा लागू गर्न सुझाव दिइन् । महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म सधै समाजमा समानता नआउने भन्दै उनले स्थानीय सरकार समेत महिला स्वलम्बन, जागरणका योजनालाई प्राथमिकता दिएको दावी गरिन् ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष जबिन कक्षपतिले क्लबको नियमित वार्षिक कार्यक्रम अन्तरगत यो वर्ष पनि महिला स्वरोजगारमुलक सीप तालिम गरिएको बताए । प्रत्येक वर्ष क्लबबाट दुई दर्जन बढी महिलाहरुलाई तालिम दिदै आएको उनले बताए ।
संस्थाका अध्यक्ष साबित्रा बस्याल, उपाध्यक्ष कमला हमालले तालिमसंगै आयआर्जनमा सहजता मिल्ने बताए । तालिम सहकारी संस्थाको भवनमा असार ५ गतेबाट सुरु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij