
बुधवार , आश्विन ६, २०७८
बुटवल, ६ असोज ।
बुटवलमा एकमहिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । लुम्बिनी बस टर्मिनलद्वारा बुटवलको नयाँ बसपार्कमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले एक महिनासम्म सञ्चालन हुने शिविरले गरिब तथा दुःखीलाई निकै सहयोग पुग्ने बताउँदै समाजसेवा गर्ने भाव सबैमा आएमा समाज परिवर्तन हुने बताए । उनले यस्ता किसिमका कामहरूलाई प्रदेश सरकार र आफूले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी बस टर्मिनल परिवारका अध्यक्ष हरि क्षेत्रीले विपन्न परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी गराउँदै यसबाट लाभ लिन लक्षित समुदायलाई आग्रह गरे । उनले अतिविपन्न वर्गलाई मोतियाबिन्दु लागेको र उपचार खर्च अपुग भएको अवस्थामा १० जनासम्मलाई मोतियाबिन्दुको निःशुल्क उपचार समेत गरिने बताए ।
लायन र लियो क्लबको सह–आयोजना तथा बुटवल आँखा अस्पतालको मुख्य सहयोगमा सञ्चालन भएको एकमहिने स्वास्थ्य शिविरमा आँखा चेकजाँच, सुगर रोगको जाँच, ब्लड प्रेसरको जाँच हुने आयोजकले जनाएका छन् । कार्यक्रममा विभिन्न लायन्स र लियो क्लबका पदाधिकारीहरूको सहभागिता रहको थियो ।
शिविर सञ्चालनका लागि लायन्स क्लब अफ बुटवल मुक्तिनाथ, लायन्स क्लब अफ बुटवल क्यापिटल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल सिटी, लायन्स क्लब अफ सैनामैना सालझण्डी, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली र लियो क्लब अफ बुटवल मणिमुकुन्दको सहयोग रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij