
बुधवार , आश्विन ६, २०७८
भैरहवा, ६ असोज ।
श्री संजय साई सेवा अर्गनाइजेशन, नेपालले भैरहवा क्षेत्रका बाढीप्रभावितलाई खाद्यान्न तथा राहत वितरण गरेको छ । अर्गनाइजेशनले बुधबार सिद्धार्थनगर–१२ डाडागाउँ, श्रीकृष्णपथमा एक कार्यक्रमको आयोजना गरी सिद्धार्थनगर वडा नम्बर ९, १२ र १३ का ४० घरपरिवारलाई दुईलाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको हो । प्रतिपरिवार चामल ४० केजी, तेल २ लिटर, नुन २ प्याकेट, चिउरा ५ केजी, दाल ३ केजी, न्यूटे«ला २ केजी वितरण गरिएको श्री संजय साई सेवा अर्गनाइजेशन, नेपाल रुपन्देहीका संयोजक राजेन्द्र थापाले बताए ।
राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले अर्गनाइजेशनले दुःखको समयमा पीडितको घाउमा मलम लगाएको बताए । उनले राहत सामग्री वितरणले सम्पूर्ण समस्याको निराकरण नगरे पनि केही सहयोग भने गर्ने बताए । प्रमुख सचेतक खानले भने, ‘मनुष्यको जीवन सुखदुःखले भरिएको हुँदा आपत् विपद्मा हतास् बन्नुहुँदैन ।’ उनले सहयोगी र सेवाका हात अझ बढ्ने विश्वास व्यक्त गरे ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले समस्यामा परेको विपन्न परिवारको सेवा गर्नु नै धर्म भएको बताइन् । उनले सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताइन् ।
नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले काठमाडौंमा प्रधान कार्यालय रहेको श्री संजय साई सेवा अर्गनाइजेशनले यस भेगका जनतालाई सहयोग गर्नु प्रशंसनीय रहेको बताए । उनले सेतो पुतलीबाट हुने साफु रोगले नागरिक पीडित भएकाले सचेत हुनुपर्ने र सेतो पुतलीबाट बच्नुपर्ने बताए ।
श्री संजय साई सेवा अर्गनाइजेशन, नेपालका केन्द्रीय अध्यक्ष अमिर केसीले संस्थाको तर्फबाट आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले यस अघि पनि संस्थाले लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रम गरेको बताए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराईले सेवाको हातको कमी नभएको बताए । उनले विपद्को न्यूनीकरणका लागि स्थानीय सरकार कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने बताए ।
श्री संजय साई सेवा अर्गनाइजेशन, नेपालका केन्द्रीय संयोजक रवि गिरीले एकले अर्कोलाई सहयोग गर्नु मानवको कर्तव्य भएको बताए । विनोद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij