२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना 

बुधवार , आश्विन ६, २०७८

भैरहवा, ६ असोज ।  कृषि उपजको उत्पादन तथा बजारीकरण गर्ने कम्पनीका रुपमा खाद्य बैंक स्थापना भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराकासाथ निजी क्षेत्रको दुई अर्बको लगानीमा राष्ट्रिय खाद्य बैंकको स्थापना भएको हो ।

कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सीप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन, उत्पादित वस्तु सरकारले तोकेको मूल्यमा कम्पनीमार्फत खरिद–विक्री गर्ने तथा देशभरका किसानहरु बैकमा जोडेर व्यवसायिक आयआर्जन वृद्धि गर्न बैकको स्थापना गरिएको राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

बैंकले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा उपस्थिति जनाउँदै पाइलट प्रोजेक्टका रुपमा सुरुवात गरी र सम्भावना हेरेर सोही अनुसार उत्पादन गर्नेछ । सबै स्थानीय तहमा सम्भाव्यता अध्ययन र त्यसैको आधारमा कृषि उत्पादनमा जोड्ने, कृषिको उर्वरभूमि नेपालको अरबौ कृषिजन्य उत्पादन आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य रहेको अध्यक्ष उप्रेतीले बताए । एक वर्ष अघि स्थापना भएको बैंकमा अहिले २५० भन्दा बढी कृषि विज्ञ, वैज्ञानिक र दक्षता हासिल गरेका व्यक्तिहरुको सहभागिता रहेको उनले बताए ।  अर्गानिक कृषि उत्पादनलाई प्राथमिकता दिदै बैंकले कृषि क्षेत्रमा लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य बैंकको रहेको उनले बताए । 

जथाभावी प्रयोग हुने गरेको विषादीलाई निरुत्साहित गरी अर्गानिक उत्पादनको क्रमिक रूपमा प्रयास गरिने, बैंकले देशका विभिन्न क्षेत्रमा रहेको सरकारी जग्गा, सामुदायिक वनका खाली जग्गा, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादन गर्ने समेत अध्यक्ष उप्रेतीले बताए । ‘बैंकको पहिलो प्राथमिकता अन्नबाली र दोस्रो चरणमा माछा, मासु, फलफूल, दुध, गेडागुडी, हरियो तरकारी, चिया, जडीबुटी लगायतको उत्पादन तथा व्यवस्थापन गर्नेेछ । रैथाने जातको संरक्षण गर्दै थोरै ठाउँमा धेरै उत्पादन दिने गरी कृषिमा आधुनिकीकरण र प्राविधिकरण गर्नेछ, ’उनले भने ।

बैंकले देशभरको किसानहरूसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैंकले कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीको भनाइ छ । हाल बैंकले विभिन्न जिल्लामा जग्गा लिजमा लिएर उत्पादन सुरु गरेको र कृषिमा बाहिरिदै गएको पैसालाई रोक्ने गरी प्रारम्भिक योजना थालिसकेको उनले बताए । ‘हालसम्म ७ सय १३ जना प्रोमोटर सदस्य रहेको बैंकले अझै विस्तार गर्दै सरकारी मापदण्ड पुरा गरी केही समयमै साधारण सेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ । हाल बैंकले सबै क्षेत्रमा कार्यालय स्थापना गर्दै बैंकमार्फत कृषिमा आबद्ध हुने सबैलाई जोड्ने काम गरिरहेको छ, ’उप्रेतीले भने ।

IMG_4100.JPG

रुपन्देहीका लागि अमित पाठकलाई सम्पर्क प्रतिनिधि चयन गरेर कामको थालनी गरिएको छ । ‘बेरोजगारी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने, कृषिलाई औद्योगिकीरण गर्ने, बैंकमार्फत काम गर्दा बिचौलिया अन्त्य हुने र आफ्नो खेतीमा आफैँ बाली लगाउने वातावरण बनाउनका लागि बैंकको स्थापना भएको छ । किसानहरुको उत्पादन बैंकले खरिद गरी भण्डारण, प्रशोधन गरी सिधै उपभोक्तासंग विक्रीवितरण गर्नेछ, ’ उप्रेतीले भने ।

स्थानीयस्तरमा किसानहरुलाई संगठित गरी उत्पादनमा सघाउने सुरुवात धान खेतीबाट गरिएको बैंकको भनाइ छ । कृषकलाई व्यवसायिक रुपमा जोड्दै आयआर्जन वृद्धि गर्न (राइस डक फार्मिङ) धान सँगसगै धानखेतमा हाँसपालनको रुपमा बर्दिया र झापामा व्यवसायिक रुपमा सुरुवात गरिसकेको बैकले जानकारी दिएको छ । कृषि पेशालाई मर्यादित र सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने कार्यमा लाग्ने बैंकले जनाएको छ ।