सोमवार , कार्तिक २४, २०८२
तिलोत्तमा, २४ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा बाल समूह संजाल स्तरीय वादविवाद प्रतियोगिता–२०८२ सम्पन्न भएको छ । सोमबार भएको प्रतियोगितामा नगरभित्रका १७ वटा बाल संजालका बालबालिकाको सहभागीता थियो ।
‘आधुनिक प्रविधि (एआई, रोबोटिक्स) ले रोजगारी सृजना कि नष्ट’ विषयक प्रतियोगितामा वडा नम्बर ३ वडा बाल सञ्जालका सुबोध ज्ञवाली प्रथम भए । उनले पुरस्कार स्वरुप ५ हजार रुपैयाँ प्रमाणपत्र प्राप्त गरे । त्यस्तै वडा नम्बर १६ वडा बाल संजालकी प्रतिभा न्यौपाने द्वितीय भइ ४ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भइन् ।
प्रतियोगितामा वडा नम्बर ९ वडा बाल संजालकी बिनिशा बगाले तृतीय हुन सफल भइन् । उनले ३ हजार र प्रमाणपत्र प्राप्त गरिन भने वडा नम्बर १४ कि बिमिला लोध र वडा नम्बर १ का सत्यम खरेलले सान्त्वना स्थान हासिल गर्दै १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको तिलोत्तमा नगरपालिका नगर बालमैत्री समन्वयकर्ता शारदा घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार आर्थिक वर्ष २०८२/०८३ को बजेट अन्तर्गत बालबालिकाको प्रतिभा प्रष्फुटन कार्यक्रम शिर्षकमा प्रतियोगिता गरिएको हो ।
सो कार्यक्रममा पुरस्कार वितरण गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बालबालिका भनेका भविष्यका कर्णधार भएको र बाल संजालमार्फत अगाडि बढिरहेका बालबालिकाले सामाजिक रूपमा आफूहरुलाई परिस्कृत गर्न सक्ने बताउनुभयो । उहाँले नगर बाल संजालले गरेका कार्यक्रमले बालबालिकालाई उनीहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा टेवा पुग्ने जानकारी दिनुभयो ।
नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बालबालिकाले प्रविधिको विकाससँगै आजका बालबालिका अघि बढे प्रगति गर्न सक्ने बताउनुभयो ।
नगर बाल सञ्जालका अध्यक्ष विवेक खड्काको अध्यक्षता, उपाध्यक्ष महिमा खनालको स्वागत तथा सचिव मिराज अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij