सोमवार , कार्तिक २४, २०८२
पश्चिम नेपालकै पुरानो अस्पताल रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा अवस्थित जिल्ला अस्पताल हाम्रो भीम अस्पताल विगत वर्षहरुमा भन्दा धेरै सुविधाहरु थप भइ राम्रो र आधुनिक सेवा दिइरहेको अनुभुति यस क्षेत्रका सेवाग्राहीहरुले गरिरहेको सुनिन्छ र देखिन्छ ।
तर, मेरो अनुभव केही तीतो र मिठो दुवै छन् । यो लेखमा केही गुनासो भएको भए पनि यसलाई अस्पताल प्रशासनले सुझावको रुपमा लिनेछ । २०८२ कार्तिक २ गते आइतबारका दिन थियो, म मेरो सानो छोराको खुट्टाको चोटका कारण रातीको कबि ११ः३० बजे भीम अस्पताल पुगेको थिएँ । हतार गरी जाँदा पैसा र स्वास्थ्य बीमाको कार्ड लिएर जान भूलिएछ । आकस्मिक कक्ष (इमरजेन्सी) को टिकटका लागि छोराकै खल्तीमा भएको रकमले भयो र आकस्मिक कक्षमा रहनुभएका चिकित्सकले सामान्य चेकजाँचपछि एक्स–रे गरेर हेर्नुपर्ने भन्नुभयो । काउण्टरमा गएर एक्स–रेको बिल कटाउन मसँग नगद पैसा नभएको र मोबाईल बैंकिङमार्फत पैसा हाल्ले सुविधा छ भनेर सोध्दा त्यहाँ त्यसप्रकारको सुविधा नभएको पाइयो । पुनः डाक्टरसँग कुरा गर्दा उहाँले केही गर्न नसक्ने बरु दुःखाइ कम गर्ने औषधि लिएर जान र भोलि आएर एक्स–रे गर्न सुझाव दिनुभयो । अनि अस्पताल परिसरमा रहेका साझा स्वास्थ्यमा औषधी पसलमा किन्न जाँदा पनि उही समस्या मोबाईल बैंकिङ्ग नभएको भनेपछि टिकट काटेर बचेको केही पैसाले मात्र २–३ चक्की औषधि लिएर फर्कन परेको तीतो सत्य सम्झनामा रहनेछ । सरकारले कागजरहित (पेपरलेस) प्रणालीलाई प्राथमिकता दिइरहेको समयमा पनि जिल्ला अस्पताल जस्तो ठाउँमा नै सो सुविधा नपाउँदा दुःख लाग्नु स्वभाविकै हो ।
माथिको कथन अनुसार तीतो अनुभव भए पनि पुनः ठूलो छोराको यही कार्तिक १८ गते साँझको समयमा स्कूटरबाट दुर्घटना भयो र प्राथमिक उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो । त्यहाँ डाक्टरले हात भाँचिएको छ, शल्यक्रिया (अप्रेशन) गर्नुपर्छ भन्नुभएपछि भोलिपल्ट स्वास्थ्य बीमाको पनि उपयोग हुने भीम अस्पताल जाने निधो गरे । अस्पताल पुगेपछि बिमाको टिकट लिन युद्ध जिते जस्तै भयो । डाक्टरसँग लगेर स्वास्थ्य परीक्षण गराइयो । उहाँले एक्स–रे गरांै भन्नुभयो–‘जब १२ घण्टा अगाडी मैले एक्स–रे गरेको थिए तैपनि ठीक छ, एक्स–रे भयो उही रिपोर्ट आयो डाक्टरसाबले अप्रेसन गरी पिन हालेर बाँचिएको ठाउँ ठीक गर्नुपर्ने बताउनुभयो । उहाँको सल्लाहबमोजिम नै हामीले त्यसको तयारी गर्यौं । रगत जाँच र अन्य तयारी गर्न बील तिर्नुपर्ने तर, त्यहा सिस्टम चलेको छैन, अहिले हुँदैन पछि आउनु भन्नुभयो । अब कति समस्या बिरामी हात दुःखेर आत्तिएको छ हाम्रो अस्पतालमा सिस्टम चल्दैन के गर्ने ? त्यही एकजना चिनजानको साथीले बील पछि गरौंला भनी चेकजाँचको व्यवस्था गर्न सहयोग गर्नुभयो । अन्यथा सायद त्यो दिन रगत जाँच हुने सम्भावना थिएन । सबै रिपोर्ट हेरेपछि डाक्टरले भोलिपल्ट बिहान १० बजे भर्ना हुनको लागि बोलाउनुभयो । कार्तिक २० गते बिहीबार अपरेशनको तयारीका साथ म र छोरा त्यहाँ पुग्यौं, बाबुलाई वार्डमा राखेर म भर्नाको बील बनाउन काउण्टर २६ पुगे । लाईन ठूलो थियो । तर, भर्ना र आकस्मिक बिरामीलाई लाइन बस्न नपर्ने भनेपछि म छेउबाट कागज देखाउन खोज्दा त्यहाँको गार्डले यहाँ होइन तपाईको २ नम्बर काउन्टर जानु भन्नुभयो । त्यहाँ पुगेपछि २ नम्बर काउण्टर बन्द छ भन्ने जानकारी पाएपछि सोधे र १ नम्बर काउण्टर देखाउनुभयो । उहाँले कागज हेरिसकेपछि भन्नुभयो यो त उही काण्न्टर २६ मा हो, यहाँ होइन भन्दै मलाई केही नजानी त्यहाँ पुगेको अनुभूति गराउनुभयो । म पुनः २६ नम्बर काउण्टर पुगे । भिड यति थियो की के भन्ने ? टिकट काट्ने सम्भावना नभएपछि बाबु भर्ना भएको वार्डमा पुगे र त्यही सिस्टरलाई सबै कुरा बताएपछि उहाँले आफै कागज बोकेर काउण्टरमा आइ फाईल दिएर बील बनाउन भन्नुभयो र जानुभयो । जब मेरो पालो आयो त्यहाँ सिस्टम चल्ने भन्छन्, बहुत रिस पनि उठ्यो । तर, के गर्ने बल्लबल्ल के–के गरेर भर्ना नम्बर मात्र चढ्यो । तर, बील कटेन अनि अर्को कोठामा स्क्यानका लागि पठाउनुभयो । त्यहाँ गए, त्यहाँको कर्मचारीले यो लेखेको बुझिएन डाक्टरलाई फेरी लेखाएर लिएर आउनुभन्नुभयो पुनः डाक्टरलाई भेट गर्न गए उहाँले सबै ठीकै छ भन्नुभयो । म अलमल परे डाक्टरलाई भने सर हुँदैन भने म अन्त जान्छु भने पछि उहाँले केही कोड लेख्दिनुभो अनि काउण्टर आए सो कोड त स्क्यान नै हुँदैन भनेपछि म तनावमा परे । डाक्टरले बिरामी लिएर आउन भनिसक्नुभयो, अपरेशनका लागि तर, यता भर्ना समेत भएको छैन ।
पुनः २६ नम्बर काउण्टरमा गए त्यहाँ पनि उही सिस्टम चलेको छैन, तपाईको कोड स्क्यान भएको छैन भन्ने जवाफ । बहुत रिस उठ्यो र भने मेरो सबै फाईल च्यातेर फालिदिनुुस् म अन्य निजी अस्पताल जान्छु । मैले आक्रोशित हुँदै भने–‘हामीले बीमा गरेको के फाइदा, तपाईहरुले यति दुःख दिनुभयो सायद तपाईहरु निजी अस्पतालबाट कमिसन पाउनुहुन्छ होला भन्ने आशंका छ, त्यसैले यो गरिरहनुभएको छ भनेपछि कसोकसो भर्नाको बील भयो । साँच्चै एक त छोराको दुःखाइ छ, त्यसमा त्यहाँको सिस्टमको समस्याले गर्दा आँसु आउँछ कि जस्तो भयो । यो सबै झण्झटकाबीच अपरेशन सफल भयो र डिस्चार्चपश्चात छोरालाई लिएर घर फर्कियो ।
अन्त्यमा, एक मनले त भीम अस्पताल कहिले पनि जानुहुँदैन भन्ने भयो । तर, पनि त्यहाँको कर्मचारीहरुको बोलीमा चाहिं पहिलाको जस्तो झर्कोपन देखिदैन थियो । १–२ जना सुरक्षा गार्डहरुको व्यवहार त त्यति राम्रो लागेन । तर, स्वास्थ्यकर्मी र कर्मचारीको बोलीमा मीठास नै थियो । रसिद काट्ने काउण्टरबाहेक हरेका ठाउँमा एकदम सहयोग र नम्र भएर प्रस्तुत भएको देख्दा खुसी पनि लाग्यो । बेलुका म काउण्टरमा गएर बिहान र अघिल्लो दिन मलाई तपाईहरुले दिएको दुःखले साह्रै चि१ दुःखेको छ भनेर कुरा राख्दा उहाँहरुले हामीले चाहेर होइन हाम्रो बीमातर्फको सिस्टम नै स्लो (विस्तारै) चल्छ, घरिघरि चल्दै चल्दैन के गर्ने भन्नुभएको थियो । भीम अस्पताल प्रशासनले यो कुरालाई तत्काल सुधार गर्नुपर्छ भन्ने मसहित समग्र भैरहवाबासीको माग पनि हो । अन्य कुरामा साँचै राम्रो सुविधा, नम्र बोली व्यवहार, सकेसम्म सहयोग नै गर्ने गरेको अनुभुति भने पक्कै भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij