आइतवार , आश्विन ३, २०७८
काठमाडौँ, ३ असोज ।
वनको काफल वनकै चरीलाई,
तिम्रो शासन दुई दिनको भए नि
हाम्रो शासन जुनीभरिलाई।।। (रुविन गन्धर्व)
सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि २०६२–०६३ मा भएको जनान्दोलनमा राजनीतिक दलका अतिरिक्त स्रष्टाहरुले सिर्जना र कर्मका माध्यमबाट सक्रिय भूमिका निर्वाह गरेका थिए । लोकगायक तथा सचेत कवि–लेखकका युग परिवर्तनमुखी गीत र रचनाले जनतामा गणतन्त्रप्रतिको चेतनाको विस्तार गराएको थियो । तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीको संयुक्त शान्तिपूर्ण आन्दोलनका क्रममा तत्कालीन राजाको प्रत्यक्ष शासनको अनेक दमन र जेलनेललाई सहेर स्रष्टाहरुले निरङ्कुशताविरुद्ध सार्थक हस्तक्षेप गरेका थिए ।
लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानका लागि उनीहरुका सिर्जना अहिले पनि जनमनमा गढेका छन् । त्यस क्रममा पत्रकारिता क्षेत्रले पनि निषेधाज्ञा तोड्ने, जनताका आन्दोलनका खबरलाई प्राथमिकता दिने तथा आन्दोलनमा जनप्रिय बनेका नेता र स्रष्टालाई नायकका रुपमा चित्रण गर्ने काम गरेका थिए । तिनै आन्दोलनका जगमा गणतन्त्र स्थापना हुँदै जनताका प्रतिनिधिबाट निर्मित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो । संविधान कार्यान्वयनका सात वर्ष प्रवेशका अवसरमा राष्ट्रिय दिवसको मान्यतासहित मुलुकमा विभिन्न कार्यक्रम भइरहेका छन् ।
संविधानप्रति आमरुपमा अधिकांश दलको अपनत्व छ । त्यसैले यसलाई साझा समझदारीको दस्तावेज मानिन्छ । सत्ता गठबन्धनमै रहेका तराई –मधेशकेन्द्रित केही दलले भने संविधानप्रति अहिले पनि विरोधको स्वर गुञ्जाइरहेका छन् । आन्दोलनमा गणतन्त्रको स्वरलाई मुखरित गर्ने स्रष्टाहरु संविधान जारी हुनुलाई उपलब्धि त मान्छन् तर जनताका तमाम अपेक्षा अझै पूरा भइनसकेकाले निरन्तर खबरदारी गर्नुपर्ने ठान्छन् ।
संविधान दिवस मनाइहँदा के ती राजनीतिक उपलब्धि संस्थागत हुँदै गएको पाउनुभएको छ भन्ने प्रश्नमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले मुलुकले संविधान पाउनु ठूलो कुरा भए पनि विश्वका तुलनामा हरेक पक्षमा राम्रै व्यवस्था भएको वर्तमान संविधानमा कतिपय प्रश्न उठेकाले यसलाई कार्यान्वयन गर्दै विकसित गरेर लानुपर्ने बताए । नेपाल प्रज्ञा –प्रतिष्ठानका पूर्वसदस्यसचिव डा गिरीले भने, “संविधान कार्यान्वयन हुँदै गएको छ । गणतान्त्रिक परिवर्तनलाई कसरी संस्थागत होला भन्ने जिज्ञासा मेटिएको छ, सबैमा एक प्रकारले उत्साह दिएको छ, अब यसलाई थप सर्वस्वीकार्य बनाउँदै मुलुकको समृद्धिका लागि काम गर्नुपर्छ ।”
देउडा गायक नन्दकृष्ण जोशी आफूहरुले सोचेको जस्तो समाज बन्न नसकेको देखेर दुःख लागेको बताउँछन् । जोशीले भने, “गरीब जनताको चुलोमा दाल, भात, तरकारी होइन, ढिँडोे पाक्न सकेको छैन तर राजनीतिक दलका नेताहरु फोहोरी खेल खेल्दैछन् । यो आन्दोलनप्रतिको धोका हो ।” हाल सुदूरपश्चिमको बझाङमा रहेका जोशीले त्यहाँका बाढीपीडित र कोरोनापीडित जनताले राहत नपाएको जनाउँदै ती जनतामा संविधान दिवस मनाउने खासै उल्लास नदेखिएको बताए ।
आन्दोलनताका ‘बिसे नगर्चीको बयान’ जस्ता कविताबाट चर्चित कवि श्रवण मुकारुङ संविधान कार्यान्वयनको क्रममा रहेको तर दलहरु र तिनको नेतृत्व तहका व्यवहारमा सुधार नआएकाले प्रणाली संस्थागत हुन समय लाग्ने देखिएको बताउँछन् । “स्थिति निराशाजनक नै त होइन तर यस प्रणालीमा आवश्यक पर्ने अनुशासन, पारदर्शिता, विधिको शासन, भ्रष्टाचारको अन्त्यजस्ता सवालमा नेतृत्व तहबाट सुधारात्मक काम अझै हुन बाँकी छ ।” प्रज्ञा –प्रतिष्ठानका पूर्वपरिषद् सदस्य मुकारुङले भने, “हामी लेखकहरु आशावादी हुनुपर्छ र हामीले सिर्जनात्मकरुपमा आलोचना गर्न छाड्नुहुन्न । लोकतन्त्रमा सुधार एक निरन्तर प्रक्रिया हो । अहिलेको घिसिपिटीको अवस्थाबाट सुधार हुनुपर्छ तर यसबाट पछाडि फर्कने प्रयास भएमा त्यसका विरुद्ध लड्नुपर्छ ।”
‘झरनाको चिसो पानी।।।’ जस्ता लोकप्रिय गीतका गायक जीवन शर्मा सम्पूर्णरुपमा नेपाली जनताको दुःख र पीडा हटाउन संविधान सक्षम नभएको टिप्पणी गर्छन् । उनले भने, “यसभन्दा उन्नत संविधान आवश्यक छ । त्यो प्राप्ति नहुँदासम्म सङ्घर्ष र खबरदारी निरन्तर कायम राख्नुपर्छ ।” रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij