२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

लायन्स भैरहवा लिगेसीद्वारा सिद्धार्थ बाल गृहमा निःशुल्क आँखा परीक्षण

आइतवार , कार्तिक २, २०८३

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, १ कार्तिक । बालबालिकाको आँखाको स्वास्थ्य जाँच तथा दृष्टिसम्बन्धी समस्या पहिचान गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसीले बाल गृहमा निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गरेको छ ।

    क्लबले शनिबार रुपन्देहीको मायादेवी गाउँपालिका–८, लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा मीनाक्षी आई केयर सेन्टर, भैरहवाको प्राविधिक सहयोगमा आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. कोशल श्रेष्ठको नेतृत्वमा रहेको टोलीले बालबालिकाको आँखा परीक्षण गरेको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका ग्याट टिम को–चिफ एडभाइजर महेशचन्द्र थापाले लायन्स क्लबले आँखा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले पछिल्लो समय मधुमेहको क्षेत्रमा समेत लायन्सले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
    ‘केही गरौँ भन्ने अठोटका साथ लायन्स अन्तर्राष्ट्रियमा लागेका छौँ । समाजमा हाम्रो केही दायित्व छ, त्यो दायित्व पूरा गर्ने माध्यम भनेको लायन्स हो,’ उहाँले भन्नुभयो । थापाले लायन्स क्लब अफ भैरहवा लिगेसीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उदाहरणीय काम गरेको बताउनुभयो ।

    सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले विगत १४ वर्षदेखि भाडाको घरमा बाल गृह सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । हाल बाल गृहमा १८ जना बालबालिका रहेको बताउँदै उहाँले राज्यबाट अपेक्षित सहयोग नपाए पनि विभिन्न व्यक्ति तथा संघ–संस्थाको सहयोगले बाल गृह सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

    लायन्स क्लब अफ भैरहवा लिगेसी वर्ष २०२६/०२७ का अध्यक्ष नारायणप्रसाद कोइरालाले क्लबले भैरहवा दशैं महोत्सव सञ्चालन गरिरहेको अवस्थामा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत बाल गृहमा आँखा परीक्षण कार्यक्रम आयोजना गरेको बताउनुभयो । परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बालबालिकाको उपचारमा समेत क्लबले सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । अध्यक्ष कोइरालाले बाल गृहकी सञ्चालक गुरुङको योगदान प्रेरणादायी रहेको बताउनुभयो ।

    क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले असोज २५ गतेदेखि सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिलमा सञ्चालन भइरहेको महोत्सवको अवसरमा समेत क्लबले आँखा परीक्षण कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो।

    क्लबका प्रथम उपाध्यक्ष गोविन्द उपाध्यायको स्वागत तथा सचिव राम नारायण ठाकुर (मुन्ना) को सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स जोन चेयरपर्सन डा. भोजराज बस्याल, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. कोशल श्रेष्ठ, नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायलगायतको आतिथ्यता रहेको थियो ।

    सोही अवसरमा क्लबले बालगृहलाई फलफूल तथा जुस पनि प्रदान गरेको थियो ।

    यसैबीच, शनिबार नै लायन्स क्लब अफ भैरहवा लिगेसी र मीनाक्षी आई केयर सेन्टरबीच उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार क्लबका सदस्यहरूले विभिन्न उपचार सेवामा छुट पाउनेछन् ।

    wwdfdf.JPG