शनिवार , कार्तिक १, २०८३
पश्चिम नवलपरासी, ३१ असोज । बडादशैंको रौनकले मुलुकभर खुसी र उल्लास छाए पनि पश्चिम नवलपरासीको सुस्ताबासीका लागि भने यसपटकको दशैं रौनकले छुन सकेको छैन । खुसी होइन, पीडा र निराशा छ । केही साताअघि नारायणी नदीमा आएको बाढी र कटानका कारण सुस्तावासीका घरमा दशको कुनै उल्लास र चहलपहल छुन सकेको छैन ।
बाढीले घरभित्र भण्डारण गरी राखिएका खाद्यान्नमा ठूलो क्षति पुगेको छ। भने खेतमा पाक्नै लागेका धानबाली र अन्नबाली बालुवाले पुरेको छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार बाढीका कारण खेतमा पाक्नै लागेको धान बाली र केरा खेतीमा ठूलो क्षति पुगेको छ । साथै, घरभित्र पानी पस्दा भण्डारण गरी राखिएका अन्न तथा अन्य विविध सामानहरू नष्ट भएका छन् । बाढीले घरबास नै जोखिममा पारेपछि अहिलेसम्म पनि करिब ४० परिवार आश्रयस्थलमै बस्न बाध्य भइरहेको प्रवक्ता जयसवालले जानकारी दिनुभयो ।
गाउँभरी दशैंको कुनै रौनक नभएको र अन्यत्र मानिसहरू पर्वको खुसी मनाइरहँदा सुस्ताका बाढीपीडितहरू भने गाँस र बासकै चिन्तामा आश्रयस्थल र भग्नावशेष हेरेर टोलाउन बाध्य छन् ।
स्थानीयबासीहरूका अनुसार दशैं मनाउनु त परको कुरा, ‘गाउँभरी दशैँको कुनै रौनक छैन । बाढीले घरका खाद्यान्नमा ठूलो क्षति पारिदियो, खेतको बाली बालुवामा परिणत भयो–‘पीडा पोख्दै सुस्ताक स्थानीयले भने, मानिसहरू दशैं मनाइरहँदा हामी भने नारायणीको कटान र भोलि कहाँ बस्ने भन्ने चिन्तामै दिन बिताउन बाध्य छौं । हाम्रा लागि यसपटकको दशैंले कुनै खुसी ल्याउन सकेन ।’
यसैबीच बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकारकातर्फबाट तत्कालीन राहत वितरणको गरिएको छ । सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मीका अनुसार बाढी प्रभावित समुदायको दुःखलाई मध्यनजर गर्दै गाउँपालिकाका तर्फबाट खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराएर सहयोग गरिएको छ ।
तथापी क्षति ठूलो रहेकाले सुस्ताबासीहरू अझै पनि पूर्ण पुनस्र्थापना र दीर्घकालीन समाधानको पर्खाइमा छन् । वर्षेनी दोहोरिने नारायणीको बाढी र कटानको स्थायी समाधान नहुँदा सुस्ताका बासिन्दाले हरेक पर्व र उत्सवहरू यस्तै अनिश्चितता र अभावका बीच बिताउनुपर्ने बाध्यता रहँदै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij