आइतवार , कार्तिक २, २०८३
भैरहवा, १ कार्तिक । आगामी आईसीसी वुमन्स यु–१९ विश्वकप क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण शिविर रुपन्देहीको भैरहवामा सञ्चालन भइरहेको छ ।
नेपाल र बंगलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी–फेब्रुअरीमा आयोजना हुने आईसीसी वुमन्स यु–१९ विश्वकप तथा एसिया कपको तयारीका लागि (अभ्यास खेल) शिविर सञ्चालन गरिएको हो ।
रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष धिरज अधिकारी क्षेत्रीका अनुसार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा असोज २० गतेदेखि बन्द प्रशिक्षण सुरु भएको हो । शिविरमा नेपालका सातै प्रदेशबाट २८ जना महिला क्रिकेट खेलाडी सहभागी छन् ।
प्रशिक्षक महेश प्रसाद रिजालका अनुसार यसअघि काठमाडौंमा खेलाडीको फिटनेसमा केन्द्रित रहेर प्रशिक्षण क्याम्प सञ्चालन गरिएको थियो । दोस्रो चरणको बन्द प्रशिक्षण कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
‘एसिया कप र विश्वकपको तयारीका लागि शिविर सञ्चालन गरिरहेका छौं । दसैंपछि पुनः अर्को चरणको बन्द प्रशिक्षण सुरु हुनेछ,’ प्रशिक्षक रिजालले भन्नुभयो ।
नेपाल यु–१९ महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान सोनी पाख्रिनले भैरहवामा दोस्रो चरणको बन्द प्रशिक्षण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एसिया कप र विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोलीले तयारी गरिरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij