२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

भन्सार छलेर ल्याइएका साढे चारलाख बढीको सामान बरामद

शनिवार , आश्विन २, २०७८

भैरहवा, २ असोज । 
भारतबाट अवैध रुपमा भन्सार छलेर र चोरीपैठारी गरी नेपाल ल्याउँदै गरिएका सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत विभिन्न इकाईहरुले भदौ २९ देखि ३१ गतेसम्म ४ लाख ७६ हजार १ सय ७० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका हुन् । फेला पारिएका सामानहरु स्थानीयको रोहरबरको बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–८ बाट विभिन्न किसिमका खाद्यान्नका सामानहरु, लत्ताकपडाहरु र किरानाका सामानहरु गरी २ लाख ५६ हजार ५ सय ८० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको टोलीले मर्चवारी गाउँपालिका–६ दुइमुहानघाटबाट युपी ५६ सीआई १५६८ नम्बरको भारतीय मोटरसाइकलबाट विभिन्न किसिमका लत्ता–कपडाहरु र बिजुलीका सामानहरु गरी १ लाख मूद्यय बराबरको सामान बरामद गरेको छ ।
त्यस्तै गरी ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–६ दुर्गौलियाबाट चिनी र मटर दाल गरी अन्दाजी २२ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–४ सुण्डीबाट २८ हजार मूल्य बराबरको अवैध चिनी बरामद गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ खुरहुरियाबाट २१ वटा बोईलर कुखुरा र २ बोरा चिनी गरी २८ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । आवश्यक कारवाहीका लागि चिनी भैरहवा भन्सार कार्यालय र कुखुरा पशु सेवा क्वारेन्टाईन बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय मर्चवार मातहत प्रहरी चौकी गुलरियाबाट खटिएको टोलीले जिल्ला सम्मरीमाई गाउँपालिका–२ मुडिला (गुलेरिया) नाका बाट विभिन्न किसिमका लत्ता–कपडाहरु गरी ४१ हजार ५ सय ९० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।