
मंगलवार , भाद्र २९, २०७८
भैरहवा, २९ भदौ । नेपाल बाल कल्याण सस्था भैरहवा र रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीले बाल सुधार गृहमा रहेका बालबालिकालाई फलफुल तथा स्टेशनरी बितरण गरिनुका साथै स्वास्थ्य परीक्षण गरिएको छ।
५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल बाल कल्याण सस्था र रोटरी क्लवले बालबालिकालाई फलफुल तथा स्टेशनरी बितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गरेका हुन्। दुई संस्था मिलेर बाल गृहका बालकहरुका फुलफुल तथा स्टेशनरी बितरण गर्नुका साथै निशुल्क स्वास्थ्य परीक्षण गरिएका नेपाल बाल कल्याण संस्थाका अध्यक्ष अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए।
दिवसको अबसर पारेर सुधार गृहमा रहेका १ सय ८ जना बालकहरुको स्वास्थ्य परीक्षण गरिएको रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीले जनाएको छ। परीक्षणका क्रममा बालबालिकामा ज्वरो, रुघाखोकी, छाला चिलाउने र हातखुट्टा दुख्ने समस्या देखिएको क्लवका अध्यक्ष डा.शतदल चौधरीले बताए। सो अबसरमा बालबालिकालाई पहिलो चरणको औषधी समेत बितरण गरिएको थियो।
कार्यक्रममा रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधीश धनसिंह महराले सुधार गृहमा राखिएका बालकले फराकिलो ठाउँ नहुँदा समस्या भोग्नु परेको बताए। उनले बालबालिकालाई शिक्षा, स्वास्थ्य, मनोरंजन र खेलकुदका गतिविधि आवश्यक पर्ने भएपनि ठाउँको अभावमा उनीहरु ती कुराबाट बञ्चीत रहेको बताए।
रोटरी एजी २५ का कृष्ण पाण्डेले बाल सुधार गृहलाई एक थान टिभि सहयोग गर्ने बताएका छन्। उनले संघसंस्थाको सहयोगले बालबालिकाको सुधारमा सहयोग पुगे पनि त्यो पर्याप्त नहुने भएकाले सरकारी पक्षले विशेष ध्यान दिनु पर्ने बताए। क्लबका अध्यक्ष डा.चौधरीले बालकहरुलाई एकै ठाउँ राख्दा छाला लगायत विभिन्न रोगको समस्या देखिएको भन्दै खुल्ला ठाउँ व्यवस्थापन गरी खेलकुदका गतिविधिमा लगाउन आग्रह गरे। चौधरीले सुधार गृहको आवश्यकतालाई ख्याल गरी आफूले पनि टिभी सहयोग गर्ने घोषणा गरे।
बाल कल्याण संस्थाका अध्यक्ष गौडेलले सुधार गृहमा राख्नुको अर्थ भोलिका दिनमा बालकहरु सुध्रिएर राम्रो बनुन भन्ने रहेको भएपनि पूर्वाधार अभावमा बालबालिकाले राम्रो सुविधा पाउन नसकेको बताए। संस्थाका उपाध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले सधै संघसंस्थाको सहयोगले सुधार गृह राम्रो नबन्ने बताउँदै अन्यत्र सारेर भए पनि सुधार गृहको पूर्वाधार विकास गर्नु पर्ने बताए।
सुधार गृह प्रमुख सुभद्रा गौतमले साँगुरो ठाउँमा धेरै बालकहरु राख्दा पर्याप्त सुविधा दिन नसकिएको बताइन। उनले संघसंस्थाको सहयोगले पछिल्ला दिनहरुमा केही सुधार भए पनि खेलकुदका क्रियाकलाप गर्न नसकिएको स्वीकार गरिन। रोटरी क्लबका सचिव कृष्ण अधिकारीको स्वागत, बालकल्याण संस्थाका महासचिव दिलीप मल्लिकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij