
मंगलवार , भाद्र २९, २०७८
भैरहवा, २९ भदौ ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा लिक्विड तरल अक्सिजन प्लान्ट जडान भइ सञ्चालनमा आएको छ । भारतमा निर्मित करिब २० मेट्रिक टन (२० हजार के.जी.) क्षमताको उक्त प्लान्टको स्थापनाले यस क्षेत्रका विरामीहरु बढी भन्दा बढी लाभान्वित हुने अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । प्लान्टको स्थापना पश्चात् अबदेखि अस्पतालमा भर्ना भएका विरामीहरुले सहुलियत दरमा शुद्ध अक्सिजन प्राप्त गर्नेछन् भने एकैपटक ठूलो मात्रामा अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई समेत पाइपलाइनको माध्यमद्धारा आकस्मिक कक्ष, आइसीयू, सीसीयू, एनआईसीयू, विभिन्न विभाग तथा वार्डहरुमा पुग्ने व्यवस्था मिलाएको छ, गुरुङले भने ।
अस्पतालका करिब ६० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको प्लान्टले एकपटक टैंकमा भरिसकेपछि सामान्य अवस्थामा अस्पताललाई करिब १५ दिनसम्म अक्सिजन उपलब्ध गराउन सक्छ । त्यस्तै कोभिड–१९ को महामारी मात्र नभइ आकस्मिक रुपमा हुने कुनै पनि किसिमको बन्द, आम हड्ताल तथा नाकाबन्दीले अस्पतालको क्रियाकलापमा कम प्रभाव पार्ने अस्पतालले विश्वास व्यक्त गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij