२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस प्रशासन शाखामा गर्‍यो तालाबन्दी

मंगलवार , भाद्र २९, २०७८

भैरहवा, २९ भदौ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पसले मंगलबार क्याम्पस प्रशासन शाखामा तालाबन्दी गरेको छ । यस अघि भदौ २३ गते क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको अनेरास्ववियुले हालसम्म पनि संगठनले उठाएको माग पुरा नभएकाले प्रशासन शाखामा समेत तालाबन्दी गरिएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको नियम अनुसार भन्दै क्याम्पसले स्नातकोत्तर तहको शिक्षण शुल्कमा १० प्रतिशत शुल्क वृद्धि गरेकोले आन्दोलनमा उत्रिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । उनले भदौ २१ गते पुरानो शैक्षिक शुल्क लिन माग गर्दै क्याम्पस प्रमुख अनिल कुमार झालाई ज्ञापनपत्र बुझाएर ४८ घण्टे अल्टिमेटम दिए पनि क्याम्पस प्रशासनले संगठनको मागलाई वेवास्ता गरेको बताए ।

‘४८ घण्टा बित्दा पनि क्याम्पस प्रशासनबाट मागबारे कुनै सम्बोधन नभएपछि भदौ २३ गते क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाएका थियौं, हामीले विद्यार्थीको हकहितका लागि उठाएका मागहरुको सम्बोधन नगरी एकलौटी ढंगले एमबीएस तहमा भर्ना कार्य भइरहेकाले क्याम्पस प्रशासन शाखामा तालाबन्दी गर्न बाध्य भएका हौं, ’न्यौपानेले भने ।

अझै पनि माग पुरा नभएको अवस्थामा अझ सशक्त ढंगले आन्दोलनलाई अगाडी बढाउने अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका सचिव आशिष पन्तले बताए ।