२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

सामाजिक सेवा लायन्स पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

सोमवार , भाद्र २८, २०७८

भैरहवा, २८ भदौ ।
सामाजिक पत्रकारिता पुरस्कारको स्थापना गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीेले एकलाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ । उक्त अक्षयकोष स्थापनाको लागि ग्रीन सिटीले लुम्बिनी प्रेस क्लबलाई एकलाखको चेक हस्तान्तरण गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक  ३२५ बी २ नेपालका गभर्नर राम प्रसाद भट्टले भने, ‘हामी सेवा गर्छौ भन्ने भावले स्थापित लायन्सहरु सामाजिक सेवामै खटिएका छौं । हामी पत्रकार र सञ्चार जगतसँगको सहकार्य अझै मजबुत बनाउने अभियानकै सिलसिलामा यो अक्षयकोष स्थापना गरेका हौं ।’

लायन्स डिष्ट्रिक ३२५ अन्तर्गत रहेका क्लबहरुमध्ये भैरहवा ग्रीन सिटीको योगदान महत्वपूर्ण रहेको उनले बताए । ‘क्लब विस्तारमा, कोरोनाको महामारिको बेला निःशुल्क खाना वितरण, बाढीप्रभावितलाई सहयोग एवं अन्य सामाजिक काममा ग्रीन सिटी अग्रभागमा देखिएको छ । आफ्नो स्थापनाको छोटो समयमा क्लबको कार्य उच्च प्रशंसनीय छ ।’ डिष्ट्रिक गर्भनर भट्टले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले पत्रकारिता पुरस्कारको लागि स्थापना गरेको अक्षयकोषले सामाजिक क्षेत्रमा पत्रकारलाई अझै उर्जावान बनाउने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि द्वितीय गर्भनर नवराज न्यौपानेले पत्रकारिता क्षेत्रकोलागि लायन्स क्लबहरुले सधै सहकार्य गरेर अगाडि बढ्ने बताए ।
उनले, ‘मिडियासँग लायन्सको सम्बन्ध अझै प्रगाढ हुनु जरुरी छ । लायन्स र पत्रकार दुवैको काम सामाजिक सेवा हो । दुवै मिलेर सामाजिक कार्य गरेमा समाज रुपान्तरण सहजै हुने गर्दछ ।’

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि महेन्द्र नारायण श्रेष्ठले ग्रीन सिटीले गरेको कार्यले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताए । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले लुम्बिनी प्रेस क्लबको सहकार्यमा सामाजिक सेवा लायन्स पत्रकारिता पुरस्कार स्थापना गरेको हो । उक्त कोषको रकमबाट प्राप्त हुने व्याजवापतको रकम हरेक वर्ष एक जना पत्रकारलाई फेलोसिप वापत प्रदान गरिने भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रेस क्लबका सल्लाहकार नारायणप्रसाद सापकोटा, अग्रज पत्रकार चेतन पन्त, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना लगायतले बोल्दै लायन्सको सामाजिक कार्यले आम मानिसलाई फाइदा पुगेको बताए ।

सोही अवसरमा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको भातृत्वमा लियो क्लब अफ भैरहवा ग्रीन सिटी स्थापना भएको छ ।

AL5A4376.JPG

नरेन्द्र केसीको अध्यक्षतामा गठित लियो क्लबमा सृष्टि पन्थी प्रथम उपाध्यक्ष, रमेशजंग बस्नेत द्वितीय उपाध्यक्ष र सुभाष पौडेल तृतीय उपाध्यक्ष रहेका छन्  । त्यसै गरी सचिवमा अस्मिता के.सी, कोषाध्यक्षमा एलिना आचर्य, सह–सचिवमा अंकित गुप्ता र सह–कोषाध्यक्षमा प्रमिश थापा रहेका छन् । त्यसै गरी सदस्यहरुमा असीम जि.सी, कुसुम सापकोटा, निर्मलराज शाही, दिलिप रायमाझी, सीमना न्यौपाने, सरोज के.सी, केशव जि.सी लगायत रहेको ग्रीन सिटीका लियो संयोजक रोशन शर्माले बताए ।