स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाईको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘विद्यार्थीले मास्क र फेसशिल्ड आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ,’ उनले भने ।
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुँदे मापदण्ड तयार गरिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ ।
विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरेर आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने पौडेलले बताए । एउटा कक्षा/सिफ्ट/समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रिने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।
ज्वारो आउने, जीउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।
भरतपुर महानगरमा अहिले सामुदायिक र संस्थागत गरी २२० विद्यालय रहेका छन् । यहाँ ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले बताए । जिल्लामा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम चापागाईंले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी थालिएको बताए । रासस