
आइतवार , भाद्र २७, २०७८
भैरहवा, २७ भदौ ।
शिल्पका देउता भगवान विश्वकर्मा बाबाको सम्झनामा मनाइँदै आएको विश्वकर्मा पूजा यस वर्ष सीमित उपस्थितिमा निरन्तरता दिदै असोज १ गते शुक्रबार विश्वकर्मा पूजा मनाइने भएको छ । आराध्या देव भगवान श्री विश्वकर्मा बाबाको हरेक वर्ष असोज संक्रान्तिमा मनाइँदै आएको पूजा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहरास्थित मन्दिरमा विधिवत रुपमा मनाइने भएको हो ।
विश्वकर्मा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम किसन सेञ्चुरीको अध्यक्षतामा शनिबार बसेको बैठकले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मन्दिर परिसरमा विश्वकर्मा पूजालाई निरन्तरता दिने बताए । कोरोना महामारीको जोखिम कायम रहेकोले त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरी सीमित उपस्थितिमा पूजा गरिने व्यवस्थापन समितिको वैठकले निर्णय गरेको अध्यक्ष सेञ्चुरीले बताए ।
भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर २०२९ सालमा बाबा नन्दलाल विश्वकर्माले मन्दिर बनाउन दिएको ९ कठ्ठा जमिनमा तत्कालीन समयमा काँचो ईट्टाले मन्दिर बनाइएको थियो । उक्त मन्दिरको पहिलोपटक संरक्षणका लागि स्थानीय समाजसेवी मायादेवी विश्वकर्मा र गोरे सुनारले आर्थिक सहयोग गरेपछि २०४२ सालमा मन्दिरको वर्तमान स्वरूप तयार भएको समितिले जानकारी दिएको छ ।
मन्दिरभित्र भगवान विश्वकर्मा बाबासँगै गणेश, शंकर, पार्वती, दुर्गा, विष्णु भगवानको समेत मूर्ति राखिएको छ । प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा बाबाको पूजाका दिन उक्त मन्दिरमा पूजाआजा गरिदै आएको समितिका सदस्य सुनिल सेञ्चुरीले जानकारी दिए ।
बैठकले समितिका सदस्य गणेश वि.क.लाई संयोजकको जिम्मेवारी दिएर व्यवस्थापनको तयारीमा लाग्न आग्रह गरेको छ । विश्वकर्मा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकिसन सेञ्चुरीको अध्यक्षता, समितिका वरिष्ठ सल्लाहाकर प्रेम कुमार सेञ्चुरीको प्रमुख आतिथ्यतामा भएको बैठकमा सचिव राजन रसाईली, सल्लाहकार पूरन सेन्चुरी, राजु वि.क., डम्मर रामदाम, प्रकाश रामदाम लगायतको उपस्थिति रहेको थियो ।
असोज १ गतेका दिन भगवान विश्वकर्माको जन्म दिन भएकोले सो को समझनामा विश्वकर्माको पूजा गरिने गरिन्छ । हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ । भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारीसाधनहरुमा बढोत्तरी हुने जनविश्वास छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ । यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij