२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

घरैदेखि प्रकृत्ति छुट्टाएर प्रशोधन केन्द्रमा लगिने

बुटवल–सैनामैनामा शून्य फोहोरको अवधारणा

जैविक मल र वायोग्यासको प्रशोधन केन्द्र बनाउने तयारी

आइतवार , भाद्र २७, २०७८

बुटवल, २७ भदौ । 
तपाइँ हामीकहाँ शौचालय भरियो भने त्यसलाई सेनेटरीवालाले तानेर लगेर कता फाल्छ र के गर्छ केही थाहा छैन । हाम्रै घरहरुमा निस्किएको फोहोरको समेत नगरपालिकाले कहाँ कसरी व्यवस्थापन गरिरहेका छन् त्यसमा पनि चासो छैन । 

कुहिने र नकुहिने दुबै प्रकारका फोहोरलाई एउटै भाँडामा हाल्यो सरसफाईको गाडी आउँछ त्यसैमा फालिदियो, महिना बित्छ रसिद लियो र पैसा तिर्यो । केही दिन गाडी आएन भने फोहोर थुप्रो लाग्यो त्यसको तस्बिर खिच्यो अनि आफ्ना पालिकालाई गाली गर्याे । फोहोरको प्रकृत्ति अलगअलग गरेर जैविक मल बनाउने र उपयोग गर्ने बारेमा हाम्रो ध्यान नै जाँदैन । यसरी चलिरहेको प्रवृत्तिलाई अब रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले नयाँ ढंगमा बदल्ने तयारी गरेका छन् । खास गरी बुटवल–सैनामैनामा शून्य फोहोरको अवधारणाका साथ यस्तो नमुना कामको थालनी भएको छ । अबको केही महिनामै यो काम सुरु हुने तयारी छ । 

यी दुई नगरको तयारी छिमेकका अरु पालिका समेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने रहेको छ । केन्द्रमा फेहोरको प्रकृत्ति अलगअलग गरेर प्रशोधन गर्ने, मल निकाल्ने, बायोग्यास निकाल्ने लगायतका प्लान्ट जडान गरिनेछन् । यस्का लागि जग्गाको व्यवस्था भइसकेको छ । उक्त जग्गामा प्राविधिकहरु, वातावरणविद्हरु लगेर अध्ययन गराउनेदेखि वैकल्पिक उर्जा र जैविक मलका जानकारहरुसंग कैयांैंपटक विषयकेन्द्रित छलफल भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन समेत गराएर थप प्राविधिक अध्यय्नपछि प्लान्ट निर्माण गर्ने तयारी छ । 

काम सुरु नहुँदै विरोध हुने र कुरै नबुझी विरोधका लागि विरोध गर्ने, भड्काउने  प्रवृत्ति छ । यसले तयारी भइरहेका कैयन योजनामा अवरोध सिर्जना हुने गरेका छन् । अहिलेको यो योजना बस्ती भन्दा टाढा र उपयुक्त स्थानमा रहेको बताइएको छ । झण्डै १६ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भएपनि विरोध मात्रै गरिरहने प्रवृत्तिका कारणले पूरा हुन नसकिरहेका बेलामा यी नगरले यसपटक भने प्रभावकारी र योजनाबद्ध कामको थालनी गरेका छन् । खासमा अहिले जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना बनाएपछि फोहोर व्यवस्थापनको काम प्राथमिकतामा परेको हो । 

फोहोरमैलालाई जैविक र अजैविक छुट्याई कम्पोष्टिङ मल तयार गर्ने एवं वैकल्पिक ऊर्जासमेत उत्पादन गर्ने योजनाका साथ बुटवल, सैनामैना, कञ्चन गाउँपालिकाका बीचमा छलफल चलिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । ‘यस्को उपयुक्त केन्द्र खोजि भइरहेको छ र प्रस्तावित जग्गामा प्राविधिक अध्यय्न भइरहेको छ’ प्रमुख सुवेदीले भने, ‘अब फोहोर उठाउने फाल्ने र पुर्ने वा जलाउने गरेर होइन, उचित प्रशोधन गरेर बहुउपयोग गरिने छ ।’

बुटवलसहित अरु छिमेकका पालिकामा उत्पादन हुने सड्ने र नसड्ने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि प्रभावकारी पहल जरुरी रहेकाले आफुहरुले विज्ञरुहसति अध्यय्न गरिरहेको प्रमुख सुवेदीले बताए । उनले लगानीका लागि सार्वजनिक, निजी र सहकारीको माध्यम अपनाउन सकिने गरि छलफल जारी रहेको पनि उल्लेख गरे । 

प्रस्तावित प्रशोधन केन्द्रका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर, वातावरणका विज्ञ तथा परामर्शदाता सहितको विशेष टोलीले विस्तृत अध्ययन गरेको थियो । विज्ञहरुसहित पालिकाका बीचमा पनि छलफल चलिरहेको र तयारी अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । ‘फोहोर थुपार्ने भन्दा पनि फोहोरलाई प्रशोधन गरेर बहुउपयोगमा ल्याउने गरी प्रशोधन केन्द्रको स्थापना गर्ने हो, यस्तो प्रशोधन केन्द्र विश्वका धेरै मुलुकमा प्रभावकारी रहेको पाइएको छ,’ प्रमुख कार्कीले भने, ‘त्यस्तै प्रविधिको प्रयोग गरेर फोहोरको आधुनिक व्यवस्थापन गरिने छ ।’

अब घरबाटै फोहोरलाई वर्गीकरण गराइने र त्यसका लागि समुदायस्तरमा सचेतनाका समेत कार्यक्रम गरिने छ । केन्द्रमा जैविक फोहोरबाट जैविक मल देखि बायोग्यास निकाल्नेसम्मको प्रविधि जडान गर्नेबारेमा अध्यय्न भइरहेको सैनामैना नगरपालिकाका प्रमुख कार्कीको भनाइ छ । यसका बारेमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा विभिन्न चरणका छलफलहरु भएका छन् । त्यस्ता छलफलमा वैकल्पिक उर्जाका जानकार, विषयविज्ञहरु र अन्य क्षेत्रका विज्ञहरु समेत दुबै पालिकाका जनप्रतिनिधि र अधिकारी सहभागी हुँदै आएका छन् । 
प्रशोधन केन्द्र सञ्चालनमा आएका अरु क्षेत्रको अवस्था र यहाँको सम्भावनालाई समेत तुलना गरेर छलफल तथा अध्ययन गरि काम अगाडि बढाइएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । कुहिने तथा नकुहिने फोहर छुट्याउने, सुरक्षित ढुवानी गर्ने र त्यसलाई प्रशोधन केन्द्रमा लगेर प्राङ्गारिक मल बनाउने बारेमा समुदायस्तरमा पनि सचेतनाका कार्यक्रम गरिने प्रवक्ता रेग्मीको भनाइ छ ।

वातावरणका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै र चासो राख्दै आउनुभएका विषयविज्ञ युवराज कंडेलले सहरमा ठूलो परिमाणमा फोहरमैला उत्पादन हुने गरेको तर त्यसको बहुउपयोग हुन नसकिरहेको अवस्थामा प्रशोधन केन्द्रमार्फत फोहोरको उचित व्यवस्थापन हुनु सकारात्मक रहेको बताए । बोरोमा हालेर, झोलामा हालेर फोहोर फाल्ने प्रवृत्तिलाई रोक्नैपर्ने उनको भनाइ छ । फोहोरको वर्गिकरण गरेर घरैदेखि नै व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । 

वातावरण तथा पर्यावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका वातावरण विज्ञ चक्रपाणी शर्माले अब फोहोरको प्रकृत्ति छुट्टाएर जैविक मल उत्पादन गर्ने तथा वायो ग्यास निकाल्ने कामको विकल्प नरहेको बताउँछन् । 

प्रांगारिक मल समेत उत्पादन हुने भएकाले यस क्षेत्रका किसानले स्वस्थ र अग्र्यानिक तरकारी वा कृषिजन्य उपभोग्य वस्तु उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । तराईका सहरमा जनघनत्वसंगै बढेको फोहोर व्यवस्थापनको पेचिलो विषय समाधान नहुँदा अनेकौं समस्या उत्पन्न भएको उल्लेख गर्दै पन्थीले फोहोरको दीर्घकालीन व्यवस्थापनमा पालिकाहरुको सहकार्यलाई प्रभावकारी बनाइने बताए ।

sarsafai samjhauta 4.jpg

बुटवलको पहल

बुटवल उपमहानगरका १९ वटै वडाहरुलाई समेट्ने गरी प्रभावकारी व्यवस्थापनको खाँचो छ । यसअघि कैयौं वर्षदेखि कुरा भए पनि सार्थकता पाउन सकिरहेको छैन । एसीयाली विकास बैंक (एडीबी) को सहयोगमा व्यवस्थापनको पहल भयो तर अगाडि बढ्न सकेन । यहाँ दैनिक ५३ टन फोहर संकलन हुने गरेको छ । यो बढ्दो क्रममा छ । यसरी संकलन हुने फोहर एडीबीको सहयोगमा दैनिक ८३ टन फोहर प्रशोधन गर्ने योजना थियो । त्यसका लागि बुटवल ७ मा रहेको शिवनगर सामुदायिक वनको करिब ५ हेक्टर जमिन छनोट गरिएको थियो । ३७ करोड रुपैयाँ लगानी हुने प्रशोधन केन्द्रको निर्माण सन् २०१० मा सुरु भएर सन् २०१५ को डिसेम्बरमा सकिनुपर्ने सम्झौता थियो ।

सुरुमा वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पारित नहुँदा लम्बिएको थियो । ईआईए अनुसार उपमहानगरपालिकाले वनको सट्टा पाल्पाको साबिक तेल्घा गाविसमा ९५ रोपनी किनेर संरक्षण गरी वृक्षरोपण गरेको छ । त्यहाँ अहिले हरियो जंगल बनिसकेको छ । त्यसपछि सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी–पप्पु जेभीसँग २८ करोड ९५ लाख ६६ हजार रुपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । फिल्ड स्तरको काम सुरु गर्न लाग्दा आफ्नो नजिकमा प्रशोधन केन्द्र राख्न नदिने भन्दै छिमेकी देवदह नगरपालिकाको चरंगेका स्थानीय बासिन्दा विरोधमा उत्रिए । दुवै स्थानीय तह बसेर सम्झाउँदा पनि स्थानीयका नाममा विरोध भइरह्यो । आयोजना अगाडि बढेन । अहिले जनप्रतिनिधि चुनिएपछि अब वैकल्पिक क्षेत्रको खोजी गर्दै दीर्घकालीन व्यवस्थापनको काम सुरु भएको छ । 

first sketch phohor.jpg

कति संकलन हुन्छ फोहोर ?

बुटवलमा ६० टन, सैनामैनामा ३५ टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक रुपमा संकलन हुँदै आएको छ । जुन फोहोरमध्ये करिब ७० प्रतिशत कुहिने रहेको फोहोरको व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएका बुटवलका उद्यमी तथा लामो समयदेखि फोहोर व्यवस्थापनमा खटिदै आएका बलभद्र पुरीको भनाइ छ । ३० प्रतिशत नकुहिने तथा पुनःप्रशोधन गर्न मिल्ने खालको फोहोरलाई पनि घरैदेखि प्रकृत्ति छुट्टाउन सकियो भने पुनः प्रयोग गर्न सकिने पुरी बताउँछन् । प्रशोधन केन्द्र नहुँदा अहिले उपमहानगरसहित यहाँका पालिकाहरुले सबै फोहर एकै ठाउँमा फाल्दै आएका छन् । 

sarsafai sthal 1.jpg