
शुक्रवार , भाद्र २५, २०७८
भैरहवा, २५ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई एकलाख रुपैयाँ सहयोग गरेको छ । क्लबले पाँचौ स्थापना दिवसको अवसर पारेर बालगृहलाई एकलाख सहयोग गरेको हो । भाडामा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई केही भए सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको क्लबले जनाएको छ । क्लबले शुक्रबार एक कार्यक्रमकाबीच बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
क्लबका वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधन, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर रामप्रसाद भट्ट, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने र लायन्स सिद्धार्थनगर लेडी युथका संस्थापक अध्यक्ष सुधा कुंवरले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर उपप्रमुख उमा काफ्लेले लायन्स सिद्धार्थनगर लेडी युथले अत्यन्तै राम्रो काम गरेको बताइन् । उनले पूजा गर्नु र व्रत बस्नु मात्र धर्म नभइ समाजसेवा गर्नु पनि ठूलो धर्म भएको बताइन् । उपप्रमुख काफ्लेले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको बताइन् । उनले लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइन् । क्लबलाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर राम प्रसाद भट्टले पछिल्लो समयमा लायन्स क्लबमा महिलाको सक्रियता बढ्दै गएको बताए । उनले स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्ने लायन्सको योजना रहेको बताए । उनले भाडाको घरमा सञ्चालित सिद्धार्थ बालगृहका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराएको अवस्थामा भवन निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, जोन चेयरपर्सन गौतम कुमार गुप्ता, लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्सका अध्यक्ष विना भण्डारी पाठक, लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष सार्दूल मयुर कसौधन लगायतले लायन्स क्लबको महत्वमा बारेमा बोलेका थिए ।
लायन्स सिद्धार्थनगर लेडी युथका अध्यक्ष तनु शर्मा कसौधनको अध्यक्षता, नीपा क्षेत्रीको स्वागत, दिपिका श्रेष्ठको ध्वजा अभिवादन तथा तृतीय उपाध्यक्ष माधुरी थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij