
सोमवार , भाद्र २१, २०७८
भैरहवा, २१ भदौ ।
भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीमा शैक्षिक शुल्क वृद्धि गरिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड–१९ को रोकथामको लागि गरिएको लडकाउन र शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द हुँदा विद्यार्थीहरुलाई मर्का परिरहेको अवस्थामा शुल्क वृद्धि गरिएको भन्दै अनेरास्ववियु भैरहवा बहुमुखी कमिटीले आपत्ति जनाएको हो ।
अनलाइन प्रणालीबाट कक्षा सञ्चालन हुँदै आएकोमा लकडाउन अवधिमा शिक्षण शुल्क नलिने सरकारको निर्णयलाई उल्लघंन गर्दै सम्पूर्ण शैक्षिक शुल्क लिइएकोले संगठनको गम्भिर ध्यानाकर्षण भएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए ।
त्रिभुवन विश्वविद्यालयको नियम अनुसार भन्दै १० प्रतिशत शुल्क वृद्धि गरिएकोप्रति संगठनले आपत्ति जनाएको न्यौपानेले बताए । अनेरास्ववियुले यस शैक्षिक सत्रको लागि पुरानै शुल्क निर्धारणको गर्न क्याम्पस प्रशासनसंग माग गर्दै सोमबार क्याम्पस प्रमुख अनिल कुमार झालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
भर्खर मात्र स्नातकोत्तर सेमेष्टर प्रणालीमा भर्नाका लागि बढाइएको १० प्रतिशत शैक्षिक शुल्क ४८ घण्टाभित्र खारेज गरी पुरानै शैक्षिक शुल्क निर्धारण गर्न माग ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियु भैरहवा क्याम्पस कमिटीका सचिव आशिष पन्तले बताए । संगठनले उठाएको माग पुरा नभएको खण्डमा अनेरास्ववियु आन्दोलनको चरण अगाडी बढाउन बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासन स्वयं हुने उनले चेतावनी समेत दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij