२०८३, कार्तिक ३ गते

Oct 19 2026 | २०८३, कार्तिक ३ गते

दशैं खर्च कटाएर गोपाल रानाले दिए ज्येष्ठ नागरिक केन्द्रका लागि दुईलाख

सोमवार , कार्तिक ३, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • बुटवल, २ कार्तिक । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले दशैंमा हुने व्यक्तिगत खर्च कटाएर ज्येष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशाला निर्माणका लागि २ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित दुर्गा मन्दिर परिसरमा निर्माण गरिने ज्येष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशालाका लागि रानाले उक्त रकम प्रदान गर्नुभएको हो । मन्दिर परिसरमा असोज २५ गतेदेखि सञ्चालित श्रीमद् देवी भागवत ज्ञान महायज्ञको आइतबार आयोजित समापन कार्यक्रममा उहाँले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै रानाले मानवीय सेवाको क्षेत्रमा सानो भए पनि योगदान पुर्‍याउने आफ्नो लक्ष्यअनुसार रकम सहयोग गरेको बताउनुभयो । बुटवलस्थित ड्रिम इन्टरनेशनल तथा तिलोत्तमा नगरपालिकास्थित ड्रिम गोल्ड रिसोर्टका सञ्चालकसमेत रहनुभएका रानाले सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आउनुभएको छ । उहाँले बुटवलका एक दर्जनभन्दा बढी विद्यालय, मानवसेवा आश्रम, अपांगता भएका व्यक्तिहरूको आश्रम तथा विभिन्न मठमन्दिरमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

    रकम सहयोग गर्ने रानालाई रामनगरस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा यज्ञ सम्पादन मूल समितिका अध्यक्ष इन्द्रध्वज मल्लले प्रमाणपत्र र दोसल्लासहित अभिनन्दन गर्नुभएको थियो ।

    कार्यक्रममा मल्लले रामनगरको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै वि.सं. २०२४ सालमा महेन्द्र राजमार्ग निर्माणका क्रममा यस क्षेत्रमा विकास विस्तार भएको बताउनुभयो । त्यसक्रममा स्थानीयवासीले मन्दिर स्थापना गरी धार्मिक सद्भाव र एकता प्रवर्द्धनका लागि नियमित पूजाआजा गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

    ‘सत्कर्म र संस्कार सिकाउने थलोका रूपमा मन्दिर स्थापना भएको हो,’ उहाँले भन्नुभयो । वि.सं. २०७९ सालमा मन्दिरलाई औपचारिक रूपमा दर्ता गरी व्यवस्थित गर्ने काम अघि बढाइएको जानकारी दिँदै उहाँले टाढाटाढाबाट आउने तीर्थालुलाई समेत बसोबासको व्यवस्था गर्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

    महायज्ञबाट संकलित रकमबाट ज्येष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका महासचिव दिलिप कुमार सुनारले बताउनुभयो । केन्द्र सञ्चालनमा आएपछि स्थानीय ज्येष्ठ नागरिकलाई भजनकीर्तन, भेटघाट र आपसी मेलमिलापका लागि साझा थलो उपलब्ध हुने उहाँको भनाइ छ ।

    करिब सात कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा व्यवस्थापन समितिले यसअघि नै क्रियापुत्री भवन र सामुदायिक भवन निर्माण गरिसकेको छ ।