
शनिवार , आश्विन ३, २०७७
भैरहवा । संविधान दिवसको अवसर पारेर भैरहवामा एक सामाजिक संस्थाले अन्तरक्रिया तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ । मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा आफुहरुले पनि कार्यक्रम गरेको आयोजकले बताएका छन् ।
स्थानिय सरकारहरुले पनि कुनै कार्यक्रम नगरिरहेको अवस्थामा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले बाल बहिरा माध्यामिक विद्यालय जंगलटोलमा एक कार्यक्रम गरि संविधान दिवसको अवसरमा शुभकामना आदन प्रदान गरेको हो । नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा उक्त दिनको अवसर पारेर खुसीयालि स्वरुप कार्यक्रम गरेको ग्रीनसिटीका अध्यक्ष शिवनाथ गुप्ताले बताए ।
सो अवसरमा लायन्स क्लब अफ ३२५ बि २ का स्ट्राजेडिक चिफ नवराज न्यौपानेले देशको मूल कानुन संविधान घोषणा भएको दिनको अवसर पारेर आयोजित कार्यक्रमले सबैलाई उत्साहित बनाएको बताए । कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर २ का अध्यक्ष दीपक कुमार थापाले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै विभिन्न सामाजिक संघसंस्था र आम नागरिकले विभिन्न क्षेत्रबाट समृद्ध नेपालकोलागि प्रदान गरिरहेको योगदानको राज्यले कदर गर्ने बताए ।
कार्यक्रममा बालबहिरा माध्यामिक विद्यालयका प्राचर्य भिम बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही सहसचिव कमल रायमाझी, म्यूडिहवा प्रहरी चौकि प्रमुख हृदय चौहान, कार्यक्रम संयोजक दिनेश ठाकुर, रोशन शर्मा लगायतले संविधान दिवसको महत्व र सामाजिक संघसंस्थाको भूमिकाको विषयमा धारणा राखे ।
सो अवसरमा उक्त विद्यालय प्रांगणमा बृक्षारोपण समेत गरिएको छ । भैरहवा ग्रीनसिटीले भैरहवाको निश्चित क्षेत्रलाई ग्रीनसिटी पार्क बनाउनेगरी कार्यक्रम बनाइरहेको क्लबका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij