२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

कैलालीमा डल्फिन गणना हुँदै

शनिवार , भाद्र १९, २०७८

भजनी, १९ भदौ ।

कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगाानाले जानकारी दिए । टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ । जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया संगम, गैरी पथरिया संगम, काढानदी पथरिया संगम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी संगम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया संगम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुंगानाले बताए ।

यसअघि पाँच वर्ष अघि एक पटक डल्फिन गणना गरिएको थियो । विसं २०७३ मा ६५ वटाको गणना गरिएकोमा २०७५ सालमा ५५ वटा डल्फिन देखा परेका थिए । अध्यक्ष ढुंगानाका अनुसार अनुमानित तथ्यांक अनुसार यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा परेका छन् । पछिल्लो तथ्यांक हेर्दा डल्फिनको संख्या वर्षेनी घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुंगानाको भनाइ छ ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा, जैविक विविधता संरक्षण गर्ने भएकाले संरक्षणको लागि एकीकृत रणनीति योजना तयार गर्न गइरहेकाले पनि डल्फिन गणना आवश्यक भएको उहाँले बताउनुभएको छ । बर्सातको चार महिना असार, साउन, भदौ र असोज महिना पथरिया, काढा, कान्द्रा नदी, गैरीनाला, रेप्टीनालामा गङ्गेटिक डल्फिन देखा पर्छन् भने अन्य समयमा कर्णाली नदीमा देखिने गर्छन् । रासस