
सोमवार , भाद्र २९, २०७७
भैरहवा, भदौ २९। एडभोकेसी फोरम नेपाल प्रदेश ५ र नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरले भैरहवामा रहेको बाल सुधार गृहलाई एक लाख रुपैयाँ बराराबरको आवश्यक सामाग्री सहयोग गरेका छन् ।
सोमबार राष्ट्रिय बाल दिवसको अवसर पारेर यी दुई संस्थाले सुधार गृहमा रहेका ७३ जना बालबालिकालाई तत्काल आवश्यक सामाग्री सहयोग गरेको दुवै संस्थाका अध्यक्ष समेत रहेका अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए । बालबालिकालाई यी दुई संस्थाले तातोचिसो खानेपानीका लागि दुईवटा कम्प्रेसर मेसिन, प्रत्येक बालबालिकालाई एकएक थान झोला, मास्क, सेनिटाइजर, सावुन, पानी पिउने बोत्तल, टबेल सहयोग गरेका हुन् ।
यस्तै, क्यारेम्बोड, लुडो, चेस लगायतका खेलकुद सामाग्री सुधार गृहकी प्रमुख बाल संरक्षण अधिकृत सुभद्रा गौतमलाई हस्तान्तरण गरिएको बाल कल्याण संस्थाका उपाध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले बताए । दिवसको अवसरमा सुधार गृहमा रहेका बालबालिकाबीच गरिएको बाल सुधार गृह र बालबालिका विषयक् कविता लेखन तथा चित्रकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय भएकालाई पुरस्कार समेत प्रदान गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बालबालिकालाई अत्यावश्यक सामाग्री सहयोग गरेर दुई संस्थाले सहारनीय काम गरेको जनाए । अधिकारीले सुधार गृहमा रहेका बालबालिकाले अत्यन्तै कष्टकर जीवनयापन गरिरहेको जनाउँदै निरन्तर सहयोग गरी उनीहरुको अधिकार संरक्षणमा लाग्नु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष गौडेलले मनोरंजनात्मक क्रियाकलापसमेत गर्न नपाउँदा बालबालिका विक्षिप्त भइरहेको जनाउँदै तत्काल आवश्यक सामाग्री हस्तान्तरण गरे पनि आउँदा दिनमा उनीहरुको आवश्यकताका आधारमा थप सहयोग गर्दै जाने जनाए । उपाध्यक्ष खड्काले सबैको सहयोग भएका सुधार गृहमा रहेका बालबालिकाको मनोविज्ञानमा राम्रो परिवर्तन आउन सक्ने बताउँदै सानो सहयोगले उनीहरुले झेल्दै आएको दुःख अन्त्य हुने बताए ।
रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता नरसिंह चौधरीले बालअधिकार संरक्षणका कुरा गरेर मात्र नहुने जनाउँदै उनीहरुको अधिकार सुनिश्चितताका लागि दैनिक आवश्यकता परिपूर्ति पनि जरुरी रहेको बताए । सुधार गृह प्रमुख गौतमले दैनिक प्रयोगमा आउने सामाग्रीको अभाव भइरहेका बेला एडभोकेसी र बाल कल्याणले गरेको सहयोगबाट बालबालिकालाई थप सहजता भएको जनाइन् । महासचिव अधिवक्ता दिलीपकुमार मल्लिकले सानो सहयोगले बालबालिकाको बृद्धि, विकासमा टेवा पुग्ने जनाउँदै आउँदा दिनमा सहकार्य गर्दै अघि बढ्ने जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij