२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रोहिणी गाउँपालिकामा घर नक्सा अनिवार्य

सोमवार , भाद्र ७, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ७ भदौ ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबारदेखि गाउँपालिका क्षेत्रमा घर एवं अन्य संरचनाको अनिवार्य नक्सा पास गर्नुपर्ने नियम बनाएको छ । सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भदौ ८ गतेदेखि २०७९ असार मसान्तसम्ममा गाउँपालिकामा रहेका भवन, कलकारखाना एवं अन्य भौतिक संरचनाको नक्शा पास गराए जरिवाना नलाग्ने र सो पछि नियम अनुसार जरिवाना लाग्ने उल्लेख गरेको छ । 

    रोहिणी गाउँपालिका क्षेत्र भित्र नक्सा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सा पास हुन बाँकी भवन, कलकारखाना तथा संरचनाहरु अभिलेखीकरण असार मसान्तसम्म गरी सक्न गाउँपालिकाले अनुरोध गरेको छ । सो मिति भित्र अभिलेखीकरण गरे विलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यसका साथै अब नयाँ बन्ने भवन, कलकारखाना एवं अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्सा पास गराउनुपर्ने न्यौपानेको भनाइ छ । अहिले नक्सापास गरी घर बनाए नियम अनुसारको दस्तुर मात्र लाग्ने र कानूनविपरीत गई संरचना बनाए दस्तरसंगै जरिवाना समेत लाग्ने भएकोले उनले समयमै नक्सा सम्बन्धि काम गर्न आग्रह गरे ।

    साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टी गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले यस अघि अव्यवस्थित रुपमा बसोबास रहेको कारण विभिन्न विकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको बताउँदै व्यवस्थित बसोबासको लागि घरनक्सा पास अपरिहार्य रहेको बताए । कानून अनुसार नक्सापास भए यसले नागरिक र स्वयं गाउँपालिकालाई पनि सहज हुने भएकोले यो अभियानमा समग्र रोहिणी गाउँपालिकावासीलाई सहभागि हुन आग्रह गरे ।