२०८३, कार्तिक ४ गते

Oct 20 2026 | २०८३, कार्तिक ४ गते

मर्चवारको चार लेन सडक दुई चरणमा निर्माण गरिनेछ : मन्त्री लम्साल

मंगलवार , कार्तिक ४, २०८३

  • 97
    Shares
  • 97
    Shares
  • भैरहवा, ३ कार्तिक । रुपन्देहीको मर्चवार क्षेत्रको मुख्य सडकलाई चार लेनमा विस्तार गर्ने काम दुई चरणमा अघि बढाइने भएको छ । संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मर्यादपुरदेखि खैरासम्मको २० किलोमिटर सडक निर्माणका लागि चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

    सोमबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का नागरिकसँगको भेटघाटका क्रममा मन्त्री लम्सालले सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभएको हो ।

    बेलबासदेखि बेथरी हुँदै मर्चवारको खैरासम्म पुग्ने उक्त सडक कोटहीमाई गाउँपालिका–३, मर्यादपुरसम्म निर्माण भएर रोकिएको छ । मर्यादपुरदेखि खैरासम्मको बाँकी सडकलाई दुई चरणमा निर्माण सम्पन्न गर्ने योजना रहेको मन्त्री लम्सालले बताउनुभयो ।

    उहाँका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको पाँच किलोमिटर सडक निर्माणका लागि केही महिनाभित्रै टेण्डर आह्वान गरिनेछ । बाँकी १५ किलोमिटर सडकको डीपीआर चालु आर्थिक वर्षको अन्त्यतिर तयार गरी ठेक्का प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

    मन्त्री लम्सालले मर्चवारीमाई मन्दिर जाने सडकको निर्माण पनि यसै वर्ष अघि बढाइने बताउनुभयो । संघीय सरकारबाट बजेट विनियोजन भएका अन्य सडकको निर्माण कार्यसमेत चालु आर्थिक वर्षमै सुरु गरिने उहाँको भनाइ छ ।

    मर्चवार क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आगामी आर्थिक वर्षमा सर्पदंश उपचार सेवा उपलब्ध हुने गरी अस्पताल निर्माण गर्ने योजना रहेको पनि मन्त्री लम्सालले जानकारी दिनुभयो । विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा डीपीआर तयार गरी आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेर काम अघि बढाइने उहाँले बताउनुभयो ।

    रुपन्देही–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले निर्वाचन क्षेत्रअन्तर्गतका सबै गाउँपालिकामा मन्त्रीको उपस्थितिमा विकास निर्माणका गतिविधि र स्थानीय आवश्यकताबारे अवलोकन गरिएको जानकारी दिनुभयो । क्षेत्रका विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यले मन्त्री, जनप्रतिनिधि र स्थानीयबीच भेटघाट तथा छलफल गरिएको उहाँले बताउनुभयो । मर्चवार क्षेत्रका सडक, सिँचाइ तथा अन्य पूर्वाधार विकाससँग सम्बन्धित समस्या र आवश्यकताबारे मन्त्रीलाई स्थलगत रूपमा जानकारी गराइएको सांसद बनियाले बताउनुभयो ।