२०८३, कार्तिक ३ गते

Oct 20 2026 | २०८३, कार्तिक ३ गते

मित्रताको दिगोपन : सामीप्यता र सीमाको सन्तुलन

मंगलवार , कार्तिक ३, २०८३

  • 16
    Shares
  • 16
    Shares
  • नदीका दुई किनारहरू सँगै जोडिए भने नदीको अस्तित्व समाप्त हुन्छ र बाढी आउँछ, तिनीहरू निश्चित दूरीमा समानान्तर बग्नुपर्छ । मानव जीवनका अनेकौं सम्बन्धहरूमध्ये सबैभन्दा पवित्र र विशिष्ट मानिने मित्रताको मर्म पनि ठीक यस्तै हो । मित्रतालाई बलियो बनाउन जति सामीप्यताको आवश्यकता पर्छ, त्यसलाई दीर्घकालसम्म जोगाइराख्न त्यति नै सम्मानजनक दूरीको पनि अनिवार्य शर्त रहन्छ । मित्रताका नाममा आपसी लक्ष्मणरेखा नाघेर अर्काको निजी र पारिवारिक जीवनमा छिर्ने अनधिकृत प्रवृत्तिले सम्बन्धलाई गाढा होइन, बरु भित्रभित्रै खोक्रो बनाउँदै लैजान्छ ।

    रगतको नाता समाज र प्रकृतिले तय गरिदिन्छ, तर मित्रता मानिसले आफ्नो विवेक, स्वतन्त्रता र चाहनाले रोज्ने अपूर्व उपहार हो । एउटा असल मित्र जीवनको सुखमा सारथी, सफलतामा उत्प्रेरक र संकटमा शीतल छहारी बन्न सक्छ । तर, वर्तमान प्रविधिको बढ्दो प्रभुत्व, सामाजिक सञ्जालको कृत्रिम सामीप्यता र प्रदर्शनवादी प्रवृत्तिको होडले मित्रताको परम्परागत र प्राकृतिक जगलाई विस्तारै हल्लाइदिएको छ । कस्तो व्यवहारले मित्रतालाई जीवन्त बनाउँछ र कस्तो व्यवहारले यसलाई धमिलो पार्छ भन्ने विषयमा आज गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।

    हाम्रो इतिहास र पौराणिक कथाहरूका पाना पल्टाएर हेर्ने हो भने मित्रताका यस्ता अनुपम आलेखहरू भेटिन्छन्, जसले सामीप्यताको गहिराइसँगै एकअर्काप्रतिको आदर र लक्ष्मणरेखाको महत्वलाई स्पष्ट रूपमा बुझाउँछन् । पौराणिक कालमा श्रीकृष्ण र सुदामाको मित्रतामा राजा र गरीब ब्राह्मणबीचको ठूलो सामाजिक खाडल थियो । तर, जब सुदामा द्वारकाको ढोकामा पुगे, कृष्णले आफ्नो ऐश्वर्य र राजकीय मर्यादाको सीमाभित्रै रहेर मित्रलाई–हृदयदेखि स्वागत र सम्मान गरे । सुदामाले पनि आफ्नो दयनीय अवस्था हुँदा समेत कृष्णको निजी सुख र राजकीय मामिलामा कुनै अनुचित माग वा हस्तक्षेप गरेनन्, जसले मित्रतामा धन र प्रतिष्ठा बाधक बन्दैन, तर आपसी मर्यादा र निःस्वार्थपन अनिवार्य हुन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ ।

    त्यस्तै प्राचीन ग्रीक इतिहासको डेमन र पिथियसको जोडीले मित्रतामा विश्वास र बलिदानको सर्वोच्च रूप देखाए । मित्रको प्राण रक्षा र उसको पारिवारिक बिदाइका लागि आफ्नो ज्यान बाजी राख्न तयार हुनु, तर एकअर्काको स्वतन्त्र अस्तित्व र अधिकारमाथि धावा नबोल्नु नै उनीहरूको मित्रताको सर्वोच्च आदर्श थियो । आधुनिक इतिहासतर्फ दृष्टिगोचर गर्दा, कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको अनन्य सम्बन्धले संसार बदल्ने वैचारिक क्रान्तिको जग बसाल्यो । एङ्गेल्सले माक्र्सलाई आर्थिक र मानसिक रूपमा निरन्तर सहयोग गरे, तर कहिल्यै माक्र्सको पारिवारिक जीवन वा उनको बौद्धिक स्वतन्त्रतामाथि आफ्नो अधिकार जमाउने कुचेष्टा गरेनन् । उनीहरू एउटै महान् लक्ष्यका लागि समानान्तर बगिरहेका नदीका दुई किनार जस्तै थिए, जसले आफ्नो मर्यादाको सीमा कहिल्यै नाघेनन् ।

    यद्यपि, इतिहासले हामीलाई अर्को एउटा तीतो सत्यको ऐना पनि देखाएको छ। जहाँ मर्यादाको सीमा नाघिन्छ, अहंकारले ठाउँ पाउँछ र एकअर्काको व्यक्तिगत जीवन वा प्रतिष्ठामा ठेस पुग्छ, त्यहाँ संसारकै सबभन्दा प्रगाढ मित्रता पनि भयानक शत्रुतामा परिणत हुन पुग्छ । महाभारत कालका राजा द्रुपद र आचार्य द्रोणाचार्य बाल्यकालका अनन्य मित्र थिए र आश्रममा पढ्दा द्रुपदले द्रोणाचार्यलाई आधा राज्य दिने वचन समेत दिएका थिए । तर पछि, जब गरिब द्रोणाचार्य मद्दत माग्न द्रुपदको दरबार पुगे, तब द्रुपदले अहंकारवश ‘एउटा दरिद्र र राजा कहिल्यै मित्र हुन सक्दैनन्’ भन्दै द्रोणाचार्यको घोर अपमान गरे। यही अपमान र लक्ष्मणरेखाको उल्लंघनले उनीहरूबीच यस्तो भयानक प्रतिशोधको आगो बाल्यो, जसको परिणामस्वरूप महाभारतको युद्धमा द्रुपदको सर्वनाश हुन पुग्यो ।

    प्राचीन रोमको इतिहासमा पनि ब्रुटस रोमन शासक जुलियस सिजरका सबैभन्दा नजिकका र विश्वासिला मित्र थिए, जसलाई सिजरले आँखा चिम्लेर विश्वास गर्थे । तर, राजनीतिक विचारको टकराव र आपसी शंकाका कारण उनीहरूको मित्रता इतिहासकै सबैभन्दा ठूलो धोखाधडीमा बदलियो । रोमन साम्राज्यको रक्षा गर्ने बहानामा ब्रुटसले आफ्नै अभिन्न मित्र सिजरको हत्या गरे, जसले गर्दा सिजरले मर्दै गर्दा ‘ब्रुटस, तिमी पनि ?’ भन्नुपरेको दर्दनाक अवस्था सिर्जना भयो ।

    आधुनिक इतिहासमा पनि नाजी जर्मनीको उदयको समयमा अन्स्र्ट रोहम हिटलरका सबैभन्दा नजिकका मित्र र उनको निजी सेनाका प्रमुख थिए । उनी हिटलरलाई नामै काढेर बोलाउन सक्ने सीमित मानिसहरूमध्ये एक थिए, तर जब रोहमको शक्ति बढ्न थाल्यो र उनले हिटलरको राजनीतिक निर्णयहरूमा आफ्नो अधिकार जमाउन खोजे, तब हिटलरले उनलाई आफ्नो सत्ताका लागि खतरा ठाने र सन् १९३४ मा आफ्नै अभिन्न मित्र रोहमको निर्मम हत्या गराए ।

    यी ऐतिहासिक र पौराणिक उत्थान–पतनहरूले स्पष्ट पार्छन् कि आजको आधुनिक समाजमा पनि मित्रताको नाउँमा आवश्यकता भन्दा बढी नजिक देखिने कृत्रिम होडबाजी र साथीको निजी, व्यवसायिक वा पारिवारिक जीवनमा अनधिकृत हस्तक्षेप गर्ने प्रवृत्ति निकै घातक बन्दै गएको छ । धेरैले यसलाई अगाध प्रेम र निष्ठाको प्रमाण ठानेका हुन सक्छन्, तर वास्तवमा यो सम्बन्धको सुन्दर जगलाई विस्तारै भित्रभित्रै खोक्रो बनाउने मन्द विष मात्र हो ।

    कुनै पनि मित्रतालाई दिगो, कसिलो र सुमधुर राख्नका लागि दुवैतर्फबाट निरन्तर सकारात्मक, परिपक्व र निःस्वार्थ प्रयासको आवश्यकता पर्दछ । मित्रतालाई गहिराइ दिने पहिलो र अनिवार्य सर्त खुला एवं इमानदार सञ्चार हो, जहाँ आफ्ना भावना, विचार, डर, आशंका र अपेक्षाहरूलाई मनमा गुम्स्याएर राख्नुको साटो साथीसँग स्पष्ट र पारदर्शी रूपमा राख्नुपर्छ । सञ्चार भन्नाले केवल आफ्ना कुरा भन्नु वा सल्लाह थोपर्नु मात्र होइन, बरु अर्को साथीको कुरालाई बिनाकुनै पूर्वाग्रह, धैर्यताका साथ सुन्नु र महसुस गर्नु पनि हो । जब हामी साथीको कुरालाई बीचमै नकाटी उसको दृष्टिकोण बुझ्ने प्रयास गर्छौं तब सम्बन्धमा पारस्परिक आदर र विश्वासको जग खडा हुन्छ ।

    विश्वास बिनाको मित्रता बालुवाको जगमा ठड्याइएको घर जस्तै हुन्छ, जुन सामान्य कम्पनमा पनि गल्यामगुलम ढल्न सक्छ । एकअर्काप्रति इमानदार हुन, सुख–दुःखमा दिएको वचन पूरा गर्नु र साथीले विश्वास गरेर सेयर गरेका निजी वा गोप्य कुराहरूलाई सधै सुरक्षित राख्नुले नै विश्वासको बलियो वातावरण सिर्जना गर्छ । जब मित्रतामा पूर्ण विश्वासको वातावरण हुन्छ, त्यहाँ अनावश्यक शंका, ईष्र्या वा डरले स्थान पाउँदैनन् ।

    प्रत्येक व्यक्तिको आफ्नै विशिष्ट विचार, स्वभाव, रुची, पृष्ठभूमि र कमजोरीहरू हुन्छन् । मित्रता बलियो र परिपक्व तब हुन्छ, जब हामी साथीलाई जस्तो छ, त्यस्तै रूपमा स्वीकार गर्छौं र उसको आत्मसम्मानको रक्षा गर्छौं । आफ्नो इच्छाअनुसार कसैलाई बदल्न खोज्नु स्वार्थ हो भने, उसको वास्तविकता र भिन्नतालाई स्वीकार गर्नु नै सच्चा प्रेम हो । साथीलाई आफ्नो इच्छा वा रुचीअनुसार जबर्जस्ती बदल्न खोज्नुको साटो उसको भिन्नतालाई आदर गर्नु नै वास्तविक परिपक्वता हो ।

     

    मानिस कमजोरीको पुत्लो भएकाले जीवनको कुनै न कुनै मोडमा गल्ती हुनु स्वाभाविक हो, तर मित्रतामा असमझदारी वा मतभेद हुँदा आफ्नो अहंकारलाई त्यागेर माफी माग्न सक्नु र साथीको भूललाई उदार मनले क्षमा गर्न सक्नु एउटा असाधारण गुण हो । आजको डिजिटल युगमा, जहाँ मानिसहरू भौतिक रूपमा सँगै हुँदा पनि आ–आफ्नो मोबाइल स्क्रिनमा हराइरहेका हुन्छन्, मित्रतालाई जोगाउन गुणस्तरीय समयको ठूलो भूमिका हुन्छ ।

    जसरी केही सकारात्मक व्यवहारले मित्रतालाई अमृत प्रदान गर्छन्, त्यसै गरी केही यस्ता विषाक्त वा नकारात्मक व्यवहारहरू हुन्छन् जसले विस्तारै मित्रताको जरा काट्दै लैजान्छन् । कुनै पनि मतभेद वा रिस उठ्दा स्पष्ट र शान्त कुराकानी गर्नुको साटो बोलचाल बन्द गर्नु वा मौन व्रत धारण गर्नु सम्बन्धका लागि निकै घातक हुन्छ, किनकि मौनताले कहिल्यै पनि समस्याको समाधान गर्दैन, बरु यसले असमझदारी र शंकाको खाडललाई अझ गहिरो बनाउँछ । साथीको सधै गल्ती मात्रै खोज्नु, अरू मानिस वा साथीहरूको अगाडि उसको कमजोरीको मजाक उडाउनु वा अपमानजनक शब्द प्रयोग गर्नु मित्रताका लागि अभिशाप सिद्ध हुन्छ । रचनात्मक सुझाव र निरन्तरको आलोचना वा अपमानमा आकाश–जमिनको फरक हुन्छ ।

    साथीको चरित्र, क्षमता वा आर्थिक अवस्थामाथि नै निरन्तर प्रहार गर्दा उसको आत्मसम्मानमा गहिरो चोट पुग्छ र मित्रतामा कहिल्यै निको नहुने तीतोपना आउँछ । ‘म सधै सही छु र मेरो निर्णय नै अन्तिम हो’ भन्ने अहंकारले मित्रतालाई ध्वस्त पार्छ । आफ्नो गल्ती हुँदा पनि स्वीकार नगर्नु र उल्टै साथीमाथि दोष थोपर्ने खेल खेल्नाले सम्बन्ध धमिलो बन्छ । अहंकारले मानिसलाई अन्धो बनाउँछ र ऊ मित्रताभन्दा आफ्नो कृत्रिम जिद्धीलाई ठूलो ठान्न लाग्छ । साथीको भावनात्मक आवश्यकतालाई ध्यान नदिनु वा उसको संकटमा उदासीन रहनु भावनात्मक उपेक्षा हो, जसले मित्रताको औचित्यमाथि नै प्रश्नचिह्न खडा गरिदिन्छ ।

    वर्तमान समाजमा मित्रतालाई लिएर एउटा ठूलो भ्रम व्याप्त छ कि हामी जति बढी नजिक देखिन्छौं, चौबिसै घण्टा जति धेरै सँगै रहन्छौं वा जति धेरै एकअर्काको जीवनको हरेक कुनामा भित्रसम्म छिर्छौं, मित्रता त्यति नै दिगो र आदर्श हुन्छ । तर, यो बुझाइ पूर्ण रूपमा गलत, अपरिपक्व र मनोवैज्ञानिक रूपमा त्रुटिपूर्ण छ । मित्रतामा एकअर्काको ख्याल राख्नु र सद्भाव देखाउनु अनिवार्य हो, तर आवश्यकता भन्दा बढी नजिक देखिन खोज्ने होडले अन्ततः सम्बन्धलाई निसासिँदो बनाउँछ ।

    हरेक समय सँगै हुनैपर्ने, साथीको हरेक क्षणको उठबस र गतिविधिको अपडेट चाहिने र उसको जीवनलाई आफ्नो निजी सम्पत्ति जस्तो ठान्ने व्यवहारले मित्रतालाई मजबुत होइन, कमजोर बनाउँछ । प्रत्येक मानिसलाई, ऊ जतिसुकै नजिकको साथी किन नहोस्, आफ्नो व्यक्तिगत स्पेस र एकान्त चाहिन्छ र त्यो स्पेस खोसिने बित्तिकै मित्रता आनन्द होइन, एउटा बोझ र बन्धन बन्न थाल्छ ।

    कतिपय अवस्थामा समाजमा वा सामाजिक सञ्जालमा देखाउनकै लागि गरिने अनावश्यक सहयोग सधै हितकर हुँदैन । साथीले माग्दै नमागेको वा उसले आफ्नो वर्ग र क्षमताले आफै गर्न सक्ने काममा पनि जबर्जस्ती सहयोग गर्न अघि सर्नु कहिलेकाही साथीको आत्मसम्मानमा चोट पुर्याउन सक्छ । साँचो र सही मित्रताले साथीलाई आत्मनिर्भर, दृढ र स्वाभिमानी बन्न सिकाउँछ, हरेक सानो कुरामा बैसाखी बनिदिनु मित्रताको दीर्घकालीन समाधान होइन ।

    सबभन्दा संवेदनशील, खतरनाक र वर्जित व्यवहार भनेको साथीको पारिवारिक वा नितान्त निजी मामिलामा हस्तक्षेप गर्नु हो । साथीको घरझगडा, श्रीमान–श्रीमती वा प्रेमी–प्रेमिका बीचको मनमुटाव वा आमाबाबु र छोराछोरीबीचको आन्तरिक विवादमा ‘म उसको सबैभन्दा मिल्ने र विशेष साथी हुँ’ भन्दै नबोलाई सल्लाह दिनु, पक्ष लिनु वा निर्णय लिन खोज्नु सरासर गलत र अक्षम्य व्यवहार हो। धेरै मानिसलाई लाग्न सक्छ कि संकटको बेला परिवारभित्र छिरेर मध्यस्थता गरिदिँदा वा समस्या समाधान गरिदिँदा मित्रता प्रगाढ र अमर हुन्छ । तर, व्यवहारिक यथार्थ यसको ठीक विपरीत छ ।
    अरूको घरायसी र पारिवारिक मामिलामा हस्तक्षेप गर्दैमा मित्रता कहिल्यै दिगो हुँदैन, बरु यसले साथीको परिवारका अन्य सदस्यहरूको नजरमा मित्रताको छवि एउटा अधिकारवादी घुसपैठियाको जस्तो बनाउँछ । पारिवारिक सम्बन्धहरू उतारचढावपूर्ण हुन्छन् र आज झगडा गर्ने परिवारका सदस्यहरू भोलि सजिलै मिल्न सक्छन् । तर, जब साथीको पारिवारिक समस्या सुल्झन्छ, तब विवादको बेला दिएको सल्लाह वा गरेको हस्तक्षेप नै दुवै पक्षका लागि टाउको दुखाइ र मनमुटावको मुख्य विषय बन्न सक्छ, जसले गर्दा अन्ततः साथीले आफ्नो पारिवारिक शान्ति जोगाउनका लागि दूरी कायम गर्न बाध्य हुनुपर्छ ।

    त्यसैले पारिवारिक मामिला र मित्रताको बीचमा एउटा स्पष्ट लक्ष्मणरेखा हुन जरुरी छ । असल साथीले संकटको बेला साथीको पीडा सुन्न सक्छ, उसको भावनाप्रति सहानुभूति दिन सक्छ र ढाडस बढाउन सक्छ । तर ‘यो तिम्रो पारिवारिक कुरा हो, तिमीहरू आफैले सल्टाउनुपर्छ, म बाहिरबाट जे–जति

    भौतिक वा नैतिक सहयोग चाहिन्छ, त्यसका लागि सधैँ तयार छु’ भनेर एउटा स्पष्ट सीमा रेखा कोर्नुपर्छ । जसरी नदीका दुई किनारहरू निश्चित दूरीमा समानान्तर रहेर नै नदीलाई सुरक्षित रूपमा बग्न दिन्छन्, त्यसै गरी मित्रतामा पनि निश्चित दूरी र मर्यादाको सीमा हुनु अनिवार्य छ । सीमा नाघ्ने बित्तिकै बाढीले विनाश निम्त्याए जस्तै मर्यादा नाघ्दा मित्रताले पनि विनाश निम्त्याउँछ ।

    मित्रता बजारमा पाइने कुनै तयारी वस्तु वा सजिलै प्रयोग गरेर फ्याँक्ने साधन होइन । यो त दुईवटा स्वतन्त्र आत्माको मिलन, निरन्तर परिमार्जन र परिपक्व बन्दै जाने एउटा जीवित प्रक्रिया हो । यसलाई सुन्दर, सुगन्धित र मजबुत बनाउने कि कुरुप, दुर्गन्धित र कमजोर, त्यो पूर्ण रूपमा हाम्रो दैनिक व्यवहार, दृष्टिकोण र मानसिकतामा भर पर्छ । निःस्वार्थ प्रेम, पारस्परिक आदर, अटुट विश्वास, क्षमाशीलता र खुला कुराकानी यस्ता व्यवहार हुन्, जसले जुनसुकै मित्रतालाई पनि समयको परीक्षामा खरो उतार्दै युगौंसम्म गाढा बनाउन सक्छन् । दिगो र स्वस्थ मित्रताका लागि सामीप्यता जति जरुरी छ, एकअर्काको व्यक्तिगत सीमा र पारिवारिक गोपनीयताको सम्मान गर्नु त्योभन्दा बढी जरुरी छ । परिपक्व मित्रताले मानिसलाई कहिल्यै बाँध्दैन वा नियन्त्रण गर्दैन, बरु उसलाई खुला आकाशमा उड्ने पखेटा दिन्छ । मित्रतामा सामीप्यतासँगै सम्मानजनक दूरीको महत्त्व र लक्ष्मणरेखा बुझ्न सके मात्र हाम्रा अमूल्य सम्बन्धहरू युगौंसम्म बाँचिरहनेछन् ।

    लेखक घिमिरे काठमाडौं महानगरपालिकाका पूर्व निर्देशक हुनुहुन्छ । उहाँ हाल कलंकी १४–काठमाडौंमा बस्नुहुन्छ ।