images

शनिवार, बैशाख २२ गते २०८१

धानबालीमा रोग लागेपछि किसान चिन्तित

धानबालीमा रोग लागेपछि किसान चिन्तित

images
images
images
बिहिवार, भाद्र ३ २०७८
बिहिवार, भाद्र ३ २०७८
  • धानबालीमा रोग लागेपछि किसान चिन्तित

    नवलपरासी ।  नवलपुरमा  लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उनले भने । 

    यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती–१७  र गैँडाकोटका वडा नं ११ र १२ मा पनि रोग देखिएको छ ।

    किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ । धान ब्लक सञ्चालन गरिएको कावासोती र गैँडाकोटमा अनुगमन गरिएको हो । जिल्लाका आठवटै स्थानीय तहबाट धानमा रोग देखिएको गुनासो आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । क्रमशः सबै स्थानीय तहमा अनुगमन गर्ने योजना रहेको उनले जानकारी दिए । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासु रेग्मी, प्रभनमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख विष्णुप्रसाद शर्मा समेतको सहभागितामा केही दिनअघि अनुगमन गरिएको हो ।
    ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीका अनुसार धानमा ब्याक्टेरीयल, ढुसीजन्य रोग र गबारो देखिएको छ । सबैभन्दा बढी खाद्य तत्वको कमी पाइएको छ । धान बालीमा पानी बढी हुँदा ब्याक्टेरीयल र ढुसीजन्य रोग देखिने उनको भनाइ छ । खाद्य तत्वको कमीले पनि पात रातो हुने, बाली सुक्ने उनले बताए । किसानले खाद्य तत्वको कमी भएको भन्ने थाहा नपाउँदा खेतीमा नोक्सान पुग्ने गरेको उनले जानकारी दिए । 

    चौधरीका अनुसार  अधिकाशं किसानले धानमा डिएपी र युरिया मल राख्ने तर पोटासको प्रयोग गर्दैनन् । पोटासको कमीले पनि धानबाली सप्रिदैन् । अर्को, किसानले धेरै वर्षसम्म एउटै जातको धानबाली लगाउँदासमेत यस्तो समस्या देखिएको हो । एउटा जातको बाली बढीमा चार वर्षसम्म प्रयोग गरेपछि फेर्नुपर्ने उनी बताउँछन् । 

    त्यस्तै अर्को कारण भनेको प्रयाप्त मात्रामा गोबर मल वा अर्गानीक मलको प्रयोग नगर्ने, रसायनिक मलको बढी प्रयोग गर्दा पनि यस्तो समस्या देखिएको चौधरीले जानकारी दिनुभयो । अनुगमनका क्रममा किसानलाई धानमा देखिएको समस्याको समाधानका बारेमा समेत जानकारी थियो । जिल्लाका धेरै किसानले सावित्री, हर्दिनाथ, वारलगायतका जातका धान लगाएका छन् ।

    कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख रेग्मीले प्रदेशको सबैभन्दा बढी धानखेती हुने जिल्ला भनेको नवलपरासी पूर्व भएका कारण यहाँ धान ब्लक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । धानमा विभिन्न खाले समस्या देखिएपछि कार्यक्रमसमेत प्रभावित हुने भएकाले आफूसमेत किसानको समस्या बुझ्न र समाधान कसरी गर्न सकिन्छ भनेर अनुगमनमा आएको उनले बताए । 

    धान ब्लक कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार गर्दै उत्पादनमा वृद्धि गर्ने, धानको बीउसमेत किसान आफैँले उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएकाले रोग किरालगायतका समस्याले किसान पनि मर्कामा पर्ने र कार्यक्रमसमेत  प्रभावित हुने उनले बताए । ब्लक कार्यक्रमअन्तर्गत किसानलाई कुलो, नहरलगायतका पूर्वाधार निर्माण, यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उनले जानकारी दिए । रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij