२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

काबुल तालिबानीको कब्जामा, राष्ट्रपति भवनमा वार्ता जारी, इस्लामिक राष्ट्र घोषणा गर्ने तालिबानको तयारी

सोमवार , श्रावण ३२, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काबुल, ३२ साउन । अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् ।
     
    त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोड्नुभएको बताइएको छ । उनी देश छोडेर कहाँ गएको हो भन्ने विषयमा केही बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन ।
     
    तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गरको छन् ।अफगानिस्तानका राजधानीतर्फ तालिवानी विद्रोहीहरुले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरुपमा तालिबानीहरुलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
     
    तर त्यसअगावै राष्ट्रपति घानीले देश छोड्नुभएको बताइएको छ । आइतबार राति नै तालिबानीहरु काबुलस्थित राष्ट्रपति निवासमा प्रवेश गरेका छन् । उनीहरुले आइतबार राति राष्ट्रपति कार्यालय र निवास कब्जामा लिएको जानकारी गराएका छन् ।
     
    आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरुबीच शुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ ।
     
    सो वार्तामा तालिबानीहरुलाई वैधानिकरुपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
      
    उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरुले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् ।
      
    तालिबानहरुले आफ्ना लडाकूहरुलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनहरु काबुल आएका हुन् । यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कफ्र्यू आदेश जारी गरिएको बताइएको छ ।

    आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।त्यसैगरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफैँ पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरुले भने कसैसँग बदला नलिने भन्दै आफूहरुसँग नडराउन भनिरहेका छन् ।   रासस