
आइतवार , श्रावण ३१, २०७८
बुटवल, ३१ साउन ।
बालबालिकाको चारित्रिक सुधार र सिर्जनशीलताका लागि बाल साहित्यको ठूलो महत्व हुने सरोकारवालाहरुले बताएका छन् । बालबालिकाले सजिलै बुझ्न सक्ने सरल, सुवोध भाषा शैलीमा लेखिएका बाल साहित्यले बालबालिकालाई मनोरञ्जनका साथै नयाँ चेतना र सोचको विकास गर्ने उनीहरुले बताए ।
बालबालिकालाई साहित्यमा रुची जगाइ कल्पना शक्तिको विकास गराउन, पठनशक्ति बढाउन, शब्दभण्डार बढाउन, सभ्यता, संस्कार र उनीहरुको भविष्य निर्माणमा सघाउन सकिने उनीहरुले सुझाव दिए । बालसाहित्यको अभावले बालबालिकाहरु सामाजिक संजाल र इन्टरनेटमा बढी भुल्दा सिर्जनशीलता र पठनशैली हराउँदै गएको उनीहरुले बताए ।
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको समन्वय र सुनौलो नेपालको आयोजनामा शनिबार बुटवलमा आयोजित बालप्रतिभा प्रष्पुटनमा बाल साहित्यको भूमिका अन्तरसंवाद कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।
कार्यपत्र प्रस्तुत गर्दै उनले बालबालिकाले सजिलै बुझ्न सक्ने सरल, सुबोध भाषा शैलीमा लेखिएका बालसाहित्यले मनोरञ्जनका साथै शिक्षादीक्षा, नैतिक सन्देश र चेतना प्रवाह गर्न सक्ने बताइन् । उनले बालबालिकालाई तार्किक र विश्लेषणात्मक क्षमताको विकास र मानवीय मूल्य एवं विकास गराउन मात्र होइन राष्ट्रिय संस्कार, नैतिक चरित्र र सद्भावनाको विकासका गराउन बाल साहित्य आवश्यक परेको बताइन् । बालबालिकाले अर्ती उपदेशको साटो मनोरञ्जनका माध्ययमबाट सुमार्गमा लगाउन सकिने बताइन् । उनले बालबालिकाको प्रतिभा प्रष्फुटन गर्ने बालसाहित्य रचनादेखि पहुँच बढाउन राज्यले लगानी बढाउनुपर्ने ज्ञवालीले बताइन् ।
अग्रज साहित्यकार एवं प्राध्यापक ऋषि भुसालले बालबालिकालाई छुनेगरी नेपाली भाषाका बाल साहित्यको अभाव रहेको बताए । बालबालिकाको भनोभाव बुझेका व्यक्तिले उनीहरुको आवश्यकता बोध गर्न सक्ने गरी बालसाहित्यको रचना गनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अग्रज पत्रकार एवं लेखक अर्जुन ज्ञवालीले हजुरबुवा–आमाबाट सुन्दै आएका कथा लोप हुँदै गएको र एकल परिवारको चलन बढेकाले बालबालिकालाई नैतिकशिक्षा दिने र सिर्जनशील बन्ने बाल साहित्यको आवश्यकता बढेको बताए ।
लुम्बिनी वाडमय प्रतिष्ठानका ऋषि भुसालले बालबालिकाको चौतर्फी विकासका लागि बाल साहित्यको ठूलो महत्व हुने बताए । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डेयले बालबालिकामा साइबर बुलिडको कुलतबाट हटाउन साहित्यका हरेक विधालाई बालबालिका केन्द्रीत बनाउन र पठनशैलीको विकास गराउन आवश्यक रहेको बताए ।
प्रगतिशील लेखक संघका अध्यक्ष दलबहादुर गुरुङले बालसाहित्य ठूलाले लेखिदिने भदा बालबालिकालाई नै लेख्न लगाउन सुझाब दिए । लेखक तथा विश्लेषक माधव पौडेलले बालबालिकालाई पाठ्यक्रम बाहिरका पुस्तक पढ्न बानी बसाल्दा उनीहरु सिर्जनशील बन्ने बताए ।
कार्यक्रममा लेखक तथा साहित्यकार इन्दिरा अर्याल, रामचद्र श्रेष्ठ, मिनाक्षी न्यौपाने, सीपी खनाल, विनोद परियार, अमित विद्यार्थी, अभिभावक संघका लोकनाथ ज्ञवाली, बाल क्लबका दिपिका घिमिरे, हेमन्त खनाल लगायतले बालसाहित्य कस्तो हुनुपर्छ भन्नेबारेमा भनाइ राखेका थिए । अमृता अनमोलको अध्यक्षता र उषाकिरण पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij