
शनिवार , श्रावण ३०, २०७८
बुटवल, ३० साउन। कोभिड– १९ले यौन तथा प्रजनन स्वास्थ्यमा पारेको असर कम गर्नका लागि सरोकारवाला निकाय जिम्मेवार र संवेदनशिल हुनुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन्।
सञ्चारिका समुह रुपन्देही तथा मोनो सपोर्टिङ्ग म्यापल गुपको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड–१९ ले महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यमा नयाँ खालका समस्याहरु देखा परेको बताएका हुन्।
कोभिड १९ को संक्रमण र त्यसको असरका रुपमा ढाड कम्मर दुख्ने, महिनावारीमा अनियमितता, शारिरिक मोटो तथा पातलोपना, कपाल झर्ने जस्ता नयाँ किसिमका समस्याहरु देखापरेकोे भन्दै उनिहरुले यस्ता समस्याहरुको अध्ययन तथा खोज अनुसंन्धान हुनु पर्नेमा जोड दिएका छन्।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा नीतिगत रुपमा काम भैरहेको बताए। खोपमा संघसंस्था केन्द्रित भन्दापनि उमेर समुह केन्द्रित बनाउनु पर्ने गिरीले बताए। मास्कलाई अनिर्वाय वस्तुका रुपमा लिनु पर्ने बताउदै कोरोना नियन्त्रणमा हामीसबै अग्रसर हुनु पर्ने बताए।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीले ५५ हजार जोनसोन खोप र ६० हजार भेरोसिल खोप रुपन्देहीमा विभिन्न उमेर समुहमा लगाई सकिएको बताए। आगामी साउन ३१ र ३२ मा कोभिशिल्ड लगाउन छुटेका जेष्ठ नागरिकलाई खोप लगाउने अभियान रहेको बताए। डा.गिरीले नयाँ खोप भाद्र महिनाको शुरुवातसँगै लगाउन शुरु गरिने पनि जनाउदै यसका असरका बारेमा खोज र अनुसन्धान आवश्यक रहेको पनि बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत बसन्तकुमार श्रेष्ठले कोभिडका कारण अहिलेसम्म जटिल प्रक्रियाका कुनैपनि समस्याहरु नआएको जनाउदै खोप प्रभावकारी रहेको बताए। अहिलेसम्म सामान्य खालका लक्षणहरु बाहेक त्यस्ता जटिल समस्या देखा नपरेको भएपनि खोपको विकल्प नभएको पनि जनाए। श्रेष्ठले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका खोपहरु नेपालमा ल्याएको जनाउदै यसमा डराउनुपर्ने कुनै कारण नरहेकोले ढुक्क भएर खोप लागाउन सबैलाई आग्रह गरेका छन्।
आम्दा अस्पताल बुटवलका मे.सु डा.राजेन्द्र बस्यालले काभिडकै कारण यस्ता समस्या आए भन्ने होइन, विभिन्न हार्मोन तथा शारिरीक परिवर्तनका कारण समस्या देखा परेको हुन सक्ने बताउदै यसतर्फ खोज तथा अनुसंन्धान समेत शुरु भैसकेको बताए।
लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.सदिक्षा चापागाईले महिलाहरुमा सामान्य खालका लक्षणहरु देखापरेको भएपनि कुनै जटिल समस्या नरहेको बताउदै सबैलाई स्वास्थ्यप्रति सचेत रहन र मापदण्डहरु पालना गर्न आग्रह गरिन।
साहसिक कदम लुम्बिनी प्रदेशका अध्यक्ष आनिक रानाले सेतो कोट लगाउने स्वास्थ्यकर्मी बाटै आफु र आफ्नो समुदाय बारम्बार तिरस्कृत भएको र सरकारले तेस्रो लिंगिको लागि खोपको व्यवस्था नगरेको भन्दै गुनासो गरेकी छन्।
कार्यक्रममा अधिकारकर्मी तथा अधिवक्ता इन्दिरा अर्यालले कार्यपत्र प्रस्तुत गर्दै कोभिडका कारण सहायक असरका रुपमा महिलाहरुमा देखा परेका स्वास्थ्य समस्याका बारेमा बिषय उठान गरेकी थिईन्।
कार्यक्रममा सञ्चारिका समूह रूपन्देहीको अध्यक्ष निरू गौतम, मोनो सपोर्टिङ्ग गु्रपका रुपन्देही संयोजक रेशम न्यौपाने, संचारिकी सचिव अस्मिना पान्डे, अधिकारकर्मी रिता सेन, राधिका पुन, पत्रकार पुजा पन्थि लगाएतले बोल्दै खोप पछि आफुहरुमा समस्या देखापरेको र समाधानका उपायहरुबारे बिज्ञहरुको ध्यान जानुपर्ने भन्दै महिला स्वास्थ्यका बारेमा चर्चा गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij