
शुक्रवार , श्रावण २९, २०७८
भैरहवा, २९ साउन ।
बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल)ले बालबालिकाहरुलाई कोरोना महामारीबाट सुरक्षित राख्न विशेष सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गर्न सरकारसंग माग गरेको छ । कन्सोर्टियम नेपालले बालबालिकाहरु उपस्थित हुने स्थान तथा क्रियाकलापहरुमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तयार गरेका स्वास्थ्य मापदण्डहरुको कडाइका साथ पालना गराउन समेत माग गरेको छ ।
शुक्रबार विज्ञप्ती जारी गर्दै कन्सोर्टियमले वर्तमान अवस्थामा बालअधिकार संयन्त्रहरुलाई थप सबल बनाउन र सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । संस्थाले बालबालिकाहरुलाई कोभिड संक्रमण उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन बमोजिम छुट्याउनुपर्ने २० प्रतिशत बेडसम्वन्धी व्यवस्थाको देशैभरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, बालबालिकाका लागि छुट्याइएका बेडहरु तथा कोरोनासँग सम्वन्धित स्वास्थ्य सेवाहरुलाई बालमैत्री बनाइयोस र सेवाको उपलब्धता, प्रभावकारीता र बालमैत्री भए नभएको नियमित अनुगमनको समावेशी संयन्त्रको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्लाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने, बाल अधिकारको संरक्षण तथा संवद्र्धनका लागि परिषद्को भुमिकालाई बालबालिका सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार थप सवलीकरण गर्नुपर्ने, बालबालिका सम्बन्धी ऐन आएको लामो समय भइसक्दा पनि नियमावली नआउँदा ऐनमा भएका व्यवस्थाहरुको कार्यान्वयनमा समस्या भएकाले बालबालिकासम्बन्धि नियमावली जारी गर्नुपर्ने माग गरेको छ ।
त्यसै गरी संघ, सबै प्रदेश र स्थानीय तहहरुमा बालबालिका सम्वन्धी ऐनमा भएको व्यवस्था अनुसारको बाल संरक्षण प्रणालीको स्थापना तथा सवलीकरण गर्नुपर्ने, स्थानीय, प्रदेश तथा संघीय तहको योजना निर्माण प्रक्रियामा बालबालिकाको सहभागिताको सुनिश्चितता तथा सबै स्थानीय तहहरुमा बालमैत्री स्थानीय शासनको कार्यान्वयन गर्नुपर्ने कन्सोर्टियमको माग छ ।
सरकारको साझा न्यूनतम कार्यक्रममा बालबालिका लागि कार्यक्रमहरु उल्लेख नहुँदा बालबालिकाहरु प्राथमिकतामा नपर्ने हुन् कि भन्ने आशंका पैदा भएको कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘कोभिड–१९ को महामारीको पहिलो र दोस्रो लहरको संक्रमणका कारण धेरै बालबालिका प्रभावित भइसकेका छन् । जनस्वास्थ्य विज्ञहरुका अनुसार कोभिड–१९ को तेस्रो लहर आउन सक्ने र कोभिड–१९ को भाइरसबाट बालबालिकाहरु बढी जोखिममा पर्न सक्ने अनुमान गरिएको छ । विज्ञहरुले बालबालिकाहरुलाई कोभिड संक्रमणबाट सुरक्षित राख्न प्रभावकारी पुर्व तयारीका लागि सुझाव दिएका छन्, ’विज्ञप्तीमा उल्लेख छ ।
‘कोभिड–१९ को पछिल्लो संक्रमणमा बालबालिकाहरु प्रभावित भएका तथ्यहरु सार्वजनिक भइरहेको अवस्था हुँदा कोरोनाको महामारीको तेस्रो लहरको पूर्वसन्ध्यामा नेपाल सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा बालबालिकालाई कोभिडबाट जोगाउनको लागि आवश्यक पर्ने पूर्वतयारीका सवालमा कुनै पनि विषयवस्तु समेटिएका छैनन्, करिब ४२ प्रतिशत जनसंख्या भएको बालबालिकाको सवाललाई सरकारले जारि गरेको नीति तथा कार्यक्रममा स्थान नदिईनु अत्यन्तै दुःखद कुरा हो, ’विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij