ॐ भुजंगेशाय विद्महे, सर्पराजाय धीमहि, तन्नो नागः प्रचोदयात्..। श्रावण शुक्ल पक्षको पञ्चमी तिथिमा पर्ने सनातनीय संस्कार संस्कृतिको अनुपम पर्व हो नागपञ्चमी । यो तिथिमा हिन्दूहरुले सर्पलाई नाग देवताको रुपमा पूजा अर्चना गर्ने गर्दछन् । सनातन संस्कृति वा हिन्दू संस्कृतिलाई प्रकृति पूजकको रुपमा पनि मानिन्छ । यो संस्कृति विश्वको एक अनुपम संस्कृति हो । पृथ्वीमा भएका हरेक जीवजन्तुदेखि बोटविरुवा र पञ्चतत्वको रुपमा रहेको जल, वायु, अग्नी, आकाश र पृथ्वीको समेत स–सम्मान पुजाआजा गर्ने परम्परा रहेको सनातन संस्कृति विश्वको अनुपम उदाहरण हो ।
धेरैजसो सर्पहरु विषालु हुन्छन् र उनीहरुले कसैलाई टोकेको खण्डमा मानिसको मृत्यु समेत हुने गर्दछ जसले गर्दा सर्पलाई मानवको दुष्मनको रुपमा समेत केही केहीले लिने गरेका छन् । वास्तवमा सर्पको टोकाईले जति मानिसले मृत्युवरण गरेका समाचारहरु सुन्न र देख्न पाइन्छ तर पृथ्वीका जीवजन्तु, बोटविरुवा र मानव समुहलाई सर्पले नै बचाउने गरेको छ भन्ने कुरा विरलै सुन्ने गरिन्छ । सर्पले वायुमण्डलमा भएको विषादीयुक्त हावालाई आफुले कालकुट विषसमान ग्रहण गरी वातावरण स्वच्छ र विषमुक्त पारेको हुन्छ । त्यसैले त हिन्दू समुदायले सर्पको महत्वलाई राम्ररी बुझि वर्षको एकदिन भए पनि सर्प वा नागलाई देवताको स्वरुपमा पनि पूजा गर्दछन् । श्रावण शुक्ल पञ्चमीलाई वर्षायामको समापन र महत्वपूर्ण चाडपर्वको सुरुवात हुँदै गरेको दिनको रुपमा समेत मान्ने गरिन्छ । हामीहरुको वैदिक दर्शनमा नागहरुलाई पनि विभिन्न १२ वटा स्वरुपमा पुजा गर्ने गरिन्छ, जसअनुसार वासुकी, शेष, अनन्त, कालिय, तक्षक, पद्म, कम्बल, कर्रकोटक, अश्ववर, ध्रितराष्ट्र, शंखपाल र पिङ्गल रहेका छन् ।
नागपुजालाई महाभारतकाल संग जोडेर हेर्ने हो भने सर्पले डसेको कारणले मृत्युवरण गरेका राजा परीक्षितका पुत्र जनमेजयले आफ्ना पिताको हत्या गरेको नागलाई बदला लिनको लागि सम्पूर्ण नाग जातीलाई नै समाप्त गर्ने उद्देश्यका साथ ठूलो महायज्ञको आयोजना गर्दछन् । उनको यज्ञको प्रभावले संसारभरीका नाग जातीहरु अग्नीकुण्डमा भष्म हुन पुग्दछन् सोही क्रममा एक तक्षकनाम गरेको नाग देवताका राजा इन्द्रकोमा पुगि बिन्ती गर्दै आफ्नो जातिको रक्षाको लागि याचना गर्दछ र सबै देवताहरु र नागहरु मिलि जनमेजय समक्ष प्रार्थना गरी नागहरुले क्षमा मागेपश्चात् जनमेजयले यज्ञ स्थगन गरी श्रावण शुक्ल पञ्चमीका दिन नागहरुलाई पुर्नजीवन दिएका दिनका रुपमा समेत यसलाई व्याख्या गरेको प्रसंग सुन्न पाइन्छ । नागपञ्चमीका दिन नागहरुको विशेष पूजाका लागि दूध, मिठाई, फुल र धान भुटेर फुला उठेको लाभासहित पीठो, कपास आदिबाट नागको आकृति बनाई सुगन्धित वासनादार धूप, दीप र नैवेद्ययसहित विशेष पुजाअर्चना गर्ने गरिन्छ ।
नागपञ्चमीको दिन नागको पुजा गरेमा नागले हामीलाई रक्षा गर्ने र वातावरणलाई सन्तुलन गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइन्छ । यस दिन घरका पुरुषहरु वा ब्राह्मण पुरोहितहरुले विशेष रुपले पुजाअर्चना गरेको नागको चित्र अंकित तस्विरहरुलाई घरको दैलोमा गाईको गोबर, दूबोसहित टाँस्ने गरिन्छ । यस दिन पुजा गरी टाँसिएको नागको चित्रअंकित फोटोहरुले वर्षभरी दूषित (विषालु) शक्तिबाट प्राणी जगतको रक्षा गर्ने विश्वास गरिन्छ । कतै कतै नाग देवतालाई जल संरक्षकको रुपमा समेत मानिने गरिन्छ जसका कारण यस श्रावण शुक्ल पञ्चमीका दिन खानेपानीको मुहान, धारा, पँधेराहरुमा समेत गएर नागको विशेष पुजाअर्चना गर्ने गरेको पाइन्छ ।
अन्त्यमा, चाहे महाभारतमा उल्लेखित कथाहरु किंवदन्ती नै किन नहोस्, चाहे नाग (सर्प) को पनि पुजा गर्नुपर्दछ भन्दा पुरातन ढोङ्गीको उपमा किन नपाइयोस्, यस्ता विभिन्न अविश्वासको खाडलहरुका बीच पनि धर्तीमा अझ विश्वासको खडेरी परेको छैन,अझ पनि मानव जातिले अन्य पशुपंक्षी, कीरा फट्यांग्राहरु, रुखबिरुवाहरु वाध्रुव सत्यको रुपमा रहेको पञ्चतत्व नै किन नहोस् सबै सबैको सम्मान र रक्षा गर्ने, संरक्षण गर्ने कार्यमा पछि हटेको छैन भन्ने कुराको प्रमाण नै हो हिन्दू वा सनातन संस्कृतिको यो अनुपम् पर्व नाग पञ्चमी । सनातन संस्कृतिको हरेक चाडपर्वहरुका आ–आफ्नै विशेषताहरु रहेका छन् र सबै पर्वहरुले कुनै न कुनै तरिकाले जीव र जगतको संरक्षण गरी नै रहेका छन् । त्यसैले यस सनातन धर्मका पर्वहरुलाई पुरातन सोचको उपमा दिनु त्यति न्यायोचित नहोला । सवै पुरानो कुरा खराब हुँदैनन्, सबै नयाँ राम्रा हुँदैन त्यसैले सवैले सतानतदेखि चलिआएको संस्कार र संस्कृतिको रक्षा गरौ, प्रकृतिलाई बचाउँ, आफू पनि बाँचौ । राधे राधे ।।