२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित

बिहिवार , श्रावण २८, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • संयुक्त राष्ट्रसङ्घ, २८ साउन । 

    संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ ।

    संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा शुरु गरेको जनाएको छ । 

    अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरु आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन् ।

    जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरु भाग्न बाध्य भएका छन् ।यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थीरुपमा बस्न बाध्य भएका छन् ।

    अहिले यहाँका विस्थापित नागरिकहरु आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् । यहाँ कतिपय सहायता एजेन्सीले उनीहरुलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा विस्थापित भएर विभिन्न शहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।

    हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानबीचमा भीषण सङ्घर्ष जारी रहेको बताइएको छ । जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् । रासस