२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अफगानिस्तानका प्रमुख शहर तालिबानको कब्जामा

बुधवार , श्रावण २७, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • बेइजिङ, २६ साउन । 

    तालिबान लडाकू समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको तालिबान समूहले दाबी गरेको छ । 

    गत चार दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी कब्जामा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ । 

    यता अमेरिकी राष्ट्रपतिले सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएक छन् । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका हुन् । 

    यद्यपि बाइडेनले अफगानिस्तानका लागि सङ्घर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गरेका छन् । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

    तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा सात वटालाई नियन्त्रणमा लिइसकेको छ । अन्य शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ ।

    अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरेको बताएका छन् । रासस