२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

आइतवार , श्रावण २४, २०७८

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौँ, २४ साउन । 

    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

    बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र  सरकार संसद्प्रति जवाफदेही बन्न आग्रह गरीन् ।  सदस्य डा खिमलाल देवकोटाले सरकार पारदर्शीरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउने कार्यक्रम ल्याउन सुझाव दिए । 

    सदस्य शेरबहादुर कुँवरले दार्चुलामा तुइनबाट सीमापार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी प्रभावकारी छानविन गरी काम गर्न माग गरे ।

    अर्का सदस्य जीतेन्द्रनारायण देवले विगतका समयमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म र भावनाअनुसार नयाँ सरकारले काम गर्न र वर्तमान गठबन्धन लामो सयमसम्म अघि बढेमा सङ्घीयता, समावेशीता, गणतन्त्र र रुपान्तरणका कार्यसूची सफल हुने बताए । 

     सदस्य चक्रप्रसाद स्नेहीले छिमेकी भारतले नेपालसँग ‘रोटी र बेटी’को सम्बन्ध भनिए पनि यसअनुसारको व्यवहार नभएको बताए । सदस्य खेमकुमार विकले प्रतिनिधिसभा दुई पटकसम्म विघटन हुनुले जनताको सार्वभौम थलोमाथि आक्रमण भएको बताए । सदस्य देवेन्द्र दाहालले सदनमा  विधेयक ल्याउन सरकारसँग आग्रह गरे । रासस