२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : गौतम

आइतवार , श्रावण २४, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौँ, २४ साउन । 

    नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन् । 
     
    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्य गौतमले सबै भूमिहीनलाई जनही पाँच÷पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाए । विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क राखे । 

    “जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्”, उनले भने, “त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ ।”
     
     नेपाली काँग्रेसका अनिता देवकोटाले कोभिड सङ्क्रमणबाट प्रभावित शैक्षिकसत्रलाई स्वास्थ्य मापदण्डको पालना गरेर नियमित गराउन माग गरीन् । उनले कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयका लागि शिक्षक दरबन्दीको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइन् । 

     नेकपा माओवादी केन्द्रका महेशकुमार महराले सशस्त्र जनयुद्ध र आन्दोलनका क्रममा विस्थापन भएका शिक्षकलाई जाँचबुझ समितिको सुझावका आधारमा पुनःस्थापना गर्न माग गरे ।