२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

उपचारदाताको खोजीमा जोसिली मधुमाया

सोमवार , श्रावण १८, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • गण्डकी, १८ साउन । 
    बाल्यकालमा बिरामी परेर हातखुट्टा कुँजीए पनि जोश र जाँगर भने कोहीभन्दा कम छैन पोखरा महानगरपालिका– ३३ भरतपोखरी बरमाझथर निवासी मधुमाया पौडेलको । विसं २०३६ साउनमा जन्मनु भएकी उहाँको १२ वर्षको हुँदा टाइफाइड बिग्रनुका साथै नसामा पनि समस्या भएर हातखुट्टा कुँजीएकी थिइन् । त्यसयता पोखराको गण्डकी अस्पतालगायत स्थानमा उपचारका लागि लगिएकामा स्वास्थ्यमा सुधार आउन नसकेको उनकी आमा मायादेवीले बताइन् । 
     
    मध्यमवर्गीय परिवारमा  थप उपचारका लागि ठूलो रकम खर्चनुपर्ने बाध्यताले पोखरा बाहिर जान सम्भव नहुँदा  वर्षौंसम्म कुँजीएर बस्न बाध्य हुनुपरेको मधुमायाको दुःखेसो छ । कक्षा २ मा पढ्दै गर्दादेखि नै बिरामी भएर विद्यालय जान नसके पनि मधुमायाले स्थानीय चण्डी माध्यमिक विद्यालयमा कक्षा ८ सम्मको अध्ययन पूरा गरेकी छन् ।  । स्मरण शक्ति तेजिलो भएकी उनले विसं २०५७ मा एक संस्थाको सहयोगमा ललितपुरको लगनखेल पुगी छ महिनाको सिलाइकटाइ तालिम लिएपछि  त्यसयता स्वरोजगार जस्तै भएकी छन्। 

    बालबालिकाका कपडाका साथै महिलाका चोलो, ब्लाउजलगायत सिलाउनका लागि स्थानीयवासी मधुमायाकोमा पुग्ने गर्छन् । सिलाइबाट आएको पैसाले जेनतेन घरखर्चमा सहयोग भएको छ नै, गाउँ समाजका विभिन्न सामाजिक काममासमेत सघाउँदै आएकी उनले धेरथोर रकम सहयोग गरेर  अरुका लागि पनि अनुकरणीय भएकी छन् ।
     
    दाइने हात खासै नचल्ने र देब्रे हातका भरमा कपडा सिलाउने गरेको बताउँदै उनले उपचार भएमा अझै पनि धेरै गर्न सक्ने आँट देखाइन् । हातखुट्टा कुँजिएर बस्नु मधुमायाका बाध्यता भए पनि सामाजिक सञ्जालका माध्यमबाट उनले समाजका हरेक गतिविधिलाई अभिरुचिपूर्वक नियाल्दै आएकी छन् । 
     
    टोल छिमेकका गतिविधिको जानकारी लिन र गाउँमा कसैको जानकारी एवं मोबाइल नम्बर आवश्यक भए पनि बालकदेखि वृद्धसम्म मधुमायाकोमा पुग्ने गर्दछन् । उपचार गर्न सके आफ्ना लागि मात्रै नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको र आफू यतिखेर उपचार गरिदिने व्यक्ति एवं संस्थाको खोजीमा रहेको उनले बताइन् । “नयाँ नयाँ प्रविधिका विकासले अहिले धेरै जटिल किसिमका रोगको उपचार हुँदै आएको छ”, मधुमायाले भनीन् “खर्चिलो उपचारका लागि पैसा नभएकै कारण कुजिएर बस्नुपर्दा दुःख लाग्दो रहेछ ।” रासस