images

शुक्रवार, बैशाख २१ गते २०८१

नवलपरासीमा उद्योग थपिँदै, रोजगारी बढ्दै

नवलपरासीमा उद्योग थपिँदै, रोजगारी बढ्दै

images
images
images
आइतवार, श्रावण १७ २०७८
आइतवार, श्रावण १७ २०७८
  • नवलपरासीमा उद्योग थपिँदै,  रोजगारी बढ्दै

    परासी, १७ साउन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक वर्षका अवधिमा दुई हजार १०० बढी घरेलु तथा साना उद्योग थपिएका छन् । नयाँ थपिएका उद्योगबाट नौ हजार बढीले रोजगारी पनि पाएका छन् । 

     गत आव २०७७/७८ मा दुई हजार १६७ घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । यो अघिल्लो आवका तुलनामा दोब्बरले वृद्धि हो । 

     अघिल्लो आव २०७६/०७७ मा जिल्लामा एक हजार १२१ उद्योग दर्ता भएका थिए । गत वर्ष नयाँ थपिएकामा सबैभन्दा धेरै कृषि तथा वनजन्य उद्योग छन् । कार्यालयका अनुसार गत आव २०७७/०७८ मा एक हजार ५५७ कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् भने ४७० सेवामूलक तथा १४० उत्पादनमूलक उद्योग थपिएका छन् । 

     लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीका कारण बेरोजगार भएकालाई स्वदेशमै स्वरोजगारको वातावरण बनाउने उद्देश्यले उद्योग दर्ता निःशुल्क गरेकाले उद्योग दर्तामा वृद्धि भएको कार्यालयले जनाएको छ । यसैगरी महिलालाई पनि उद्यमतर्फ प्रोत्साहन तथा सहुलियतका कार्यक्रम ल्याइएकाले पनि महिला उद्यमीको सङ्ख्या बढ्दो रहेको कार्यालय प्रमुख भुसाल बताए । 

     गत वर्ष थपिएका उद्योगमा मात्रै एक हजार ३०३ पुरुष र एक हजार ९३ महिला गरी दुई हजार ३९६ जना उद्यमी छन् । थपिएका उद्योगमा मात्रै रु पाँच अरब छ करोड छ हजार लगानी रहेको कार्यालयले जनाएको छ ।

     उहाँका अनुसार नयाँ उद्योगबाट नौ हजार १३२ जनाले रोजगारी पाएका छन् । कृषि तथा वनजन्य उद्योगतर्फ तीन हजार ५१५ पुरुष र दुई हजार ७०६ महिला गरी छ हजार २२१ जनाले रोजगारी पाएका छन् । 

     कार्यालय प्रमुख भुसालका अनुसार सेवामूलक उद्योगतर्फ दुई हजार ८४ ले रोजगारी पाएका छन् । यसमा एक हजार ३६२ पुरुष र ७२२ महिला छन् । नयाँ थपिएका उत्पादनमूलक उद्योगतर्फ ५७२ पुरुष र २५५ महिला गरी ८२७ ले रोजगारी पाएका छन् । जिल्ला कृषिका लागि उर्वर मानिन्छ । यहाँका अधिकांश युवा र महिला उद्यमतर्फ आकर्षित भएको कार्यालयले जनाएको छ । रासस
    ––– 

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij