२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

प्रधानमन्त्रीद्वारा खोप केन्द्र अनुगमन

सोमवार , श्रावण ४, २०७८

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन्  ।

    ROS_KTM-6483441(1).jpg

    केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा अशेष ढुङ्गेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गरेका हुन् । उनीसँगै नेपालस्थित अमेरिकाका राजदूत ¥याण्डी बेरी पनि थिए ।

    प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, युनिफाइड अस्पतालका कार्यकारी निर्देशक डा जागेश्वर गौतमले लगायतलेसमेत अस्पतालका बारेमा जानकारी गराएका थिए ।  अस्पतालका कार्यकारी निर्देशक डा गौतमले आज एक हजार जनालाई खोप प्रदान गर्ने बताए । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो । सो खोपको एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो ।

    स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा कल्याण शाखा प्रमुख डा झलक शर्मा गौतमले आजदेखि काठमाडौँ उपत्यका, काभ्रे र गण्डकी प्रदेशका केही जिल्लामा उक्त खोप लगाउन थालिएको जानकारी दिए । जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइने छ । उनले खोपलाई चाँडै नै देशभर पुर्‍याउने बताए । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । मुलुकमा अहिलेसम्म २९ लाख ९९ हजार २१४ पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ दोस्रो मात्रा खोप लगाइसकिएको छ । रासस