२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

चैतसम्म सबै नेपालीलाई खोप लगाउने देउवा सरकारको पहिलो निर्णय 

बुधवार , आषाढ ३०, २०७८

काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चैत्रसम्ममा सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो। आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकले गरेको छ। महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय बैठकले गरेको छ। 

यस्तो छ सरकारको प्राथमिकता

मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ। त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा रहेको छ।