२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लकडाउनमा साइबर अपराध

शनिवार , आषाढ २६, २०७८

भैरहवा। हाल कोरोना महामारीका कारण विश्वनै आक्रान्त छ । सुरुमा सन् २०१९ को अन्ततिर चीनमा देखा परेको कोभिड–१९ नामाकरण गरिएको कोरोना भाइरसको महामारीले विभिन्न लहर र भेरियन्ट हुँदै हाल विश्वमा साम्राज्य नै जमाइसकेको छ । कोरोना महामारीको उपनिवेशबाट आजादी प्राप्त गर्न विकसित मुलुकहरूले विभिन्न खोपहरु आविष्कार गरे पनि त्यसको प्रभावकारिता र सर्वसुलभताका सम्बन्धमा विभिन्न कोणबाट उठेका प्रश्नहरूको चित्तबुझ्दो जवाफ विश्व स्वास्थ्य संगठन, सरकार र स्वयं निर्माता कम्पनीसँग समेत छैन । 

कोभिडसंग लड्ने प्रभावकारी औषधि हालसम्म आविष्कार नै नभएको र प्रयोगमा ल्याइएका खोपहरूको प्रभावकारिता पनि शतप्रतिशत नभएको, त्यही खोप पनि सहज रूपमा उपलब्ध नभएको अवस्थामा कोरोना संक्रमण नियन्त्रण गर्ने प्रमुख उपायको रूपमा माक्स, स्यानिटाइजर, सामाजिक दुरी र लकडाउनलाई अगाडि सारिएको छ । अफ्रिका, यूरोप, अष्ट्रेलिया लगायत विश्वका अधिकांश मुलुक र स्थानहरूमा अझै पनि मानिसको आवागवन नियन्त्रित गर्न फरक–फरक मोडेलका लकडाउन र निषेधाज्ञा आदेश जारी गरिएको छ । अमेरिकाले शुरुदेखि नै अर्थतन्त्रलाई चलायमान राख्न बाध्यात्मक नभई स्वेच्छिक लकडाउनको नीति अवलम्बन गर्दै कोरोना महामारीविरुद्धको मोर्चामा आफूलाई अग्रपंक्तिमा राखेको पाइन्छ । विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने र छिमेकी मुलुक भारतसंग खुला सीमाना भएको कारण स्थलमार्गबाट आउने यात्रुको कारण नेपालपनि कोरोना महामारीबाट आक्रान्त हुन पुग्यो ।

नेपालले माक्स, स्यानिटाइजरमा जोड दिए पनि कोरोना महामारीविरुद्धको लडाइँमा लकडाउनलाई मिसाइलको रूपमा प्रयोग गर्दै आइरहेको छ । कहिले लकडाउन, कहिले निषेधाज्ञाको नाममा मानिसको सार्वजनिक आवतजावतको नियन्त्रण र सामाजिक व्यवहारहरूमा संकुचन ल्याएको सरकारले हाल आएर मोडेलमा केही परिवर्तन ल्याएको पाइन्छ । लकडाउनको प्रभावकारिताको सम्बन्धमा पनि विभिन्न कोणबाट प्रश्न नउठेको होइन । लकडाउनले सांसद, साना–ठूला आकार प्रकारका नेता, स्थानीय र प्रदेश सरकारका पदाधिकारीहरू एवं खासगरी सत्तासिन पार्टीका प्रभावशाली व्यक्तिहरूको निर्वाध आवागमनलाई असर पारेन । लकडाउनले एकातिर गरिब, किसान, मजदुर, विद्यार्थी र निम्नवर्ग, तह र तप्काका सामान्य नागरिकको रोजीरोटी खोस्यो, आफ्नो गन्तब्यसम्म पुग्न त के सामानय हिँड्डुल गर्नसम्म पनि निषेध गर्यो भने अर्कोतिर त्यही अवधिमा सांसद अपहरण, सत्ताको छिनाझपटी, पार्टीका बैठक जस्ता विकृतिलाई भने निर्वाध मार्गप्रशस्त गर्यो ।  

अनलाइन संसार :
लकडाउनको समयमा घर बाहिर हिँडडुल र आवतजावत गर्न निषेध गरिएको र सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यताका कारण समूहमा नभइ एक्लै समय बिताउनु पर्नाले अधिकांशको जीवनमा इन्टरनेट एक्लोपनाको सारथी भएको छ । लकडाउनले मानिसलाई वास्तविक संसारबाट भर्चुअल संसारमा प्रवेश गराएको छ । मानिसमा भेटघाट, कुराकानी, सामाजिक र दैनिक कृयाकलापहरू अनलाइनबाट हुने गरेका छन् । लकडाउनको समयमा आइसोलशन वा एकान्तबासमा लामो समय बिताउनुपर्दा मानिसमा डिजिटल डिप्रेसन वा इन्टरनेटको कुलत (एडिक्ट) लाग्ने, अन्तवैयक्तिक र बाह्य सम्बन्धमा ह्रास ल्याउने, आइ–डिस्ट्रयाक्सन र इ–पर्सनालिटी सिन्ड्रोमजस्ता डिस्अडर देखापर्ने भई मानिसमा एकांगीभाव हावी हुने र सामाजिक अन्तरक्रिया कमजोर हुने मात्र नभई डिजिटल भाइलेन्स, सेक्स्टिङ, अनलाइन ह्यारेसमेन्ट जस्ता आपराधिक मनोवृत्तिको खतरापनि चुनौति बन्न गएको छ । 

मानिस विवेकशील सामाजिक प्राणी भएकोले परिवार र समाजका अन्य सदस्यहरूसँग घुलमिल हुन, अन्तरक्रिया गर्न, समाजमा आफ्नो उपस्थिति र अस्तित्व प्रदर्शन गर्न र सामाजिक क्रियाकलापसंगको आबद्धताको माध्यमबाट वैयक्तिक हित प्रबर्धन गर्न लालायित रहन्छ । जब एकान्तपन हावी हुन जान्छ, मानिसको स्वभाव र व्यवहारमा परिवर्तन हुन पुग्दछ तब यसको नतिजा पनि अनपेक्षित र विकृत हुन पुग्दछ । सामाजिक अन्तरनिर्भरता सबल बनाउन, परिवार संस्थाको जगेर्ना गर्न एवं सामाजिक राज्य र कल्याणकारी सरकार निर्माण गर्न, मानिसलाई समाजको जरुरी हुन्छ । आफ्ना भावना अभिव्यक्त गर्न, संयुक्त पहलबाट सामूहिक हित प्रबर्धन गर्न व्यक्तिलाई समाजको आवश्यकता पर्दछ । मानिसका व्यवहारलाई मनोविज्ञानका माध्यमबाट विश्लेषण गर्ने गरिन्छ । लकडाउनमा सामाजिक दूरी र एकाङ्की बसाइले असामान्य मनोभाव विकसित हुन गई मानिस क्रमश : असामाजिक बन्न जान्छ । 

साइबर अपराध :

भौतिक विज्ञानका आविष्कारहरूमध्ये कम्प्युटर विज्ञान, सूचना प्रविधि एवं सामाजिक सञ्जालमा भएको विकास उत्कृष्ट मानिन्छ । यी मानवीय सुख परिलक्षित साधन हुन् । काल्पनिक संसारको परिकल्पना र भर्चुअल दुनियाको निर्माण गरेर इन्टरनेटले मानिसको जीवन धेरै सहज बनाएको छ । इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबाट समय, श्रम र धनको बचत भई मानिसले धेरै उपयोगी काममा गरिरहेको हुन्छ । तर बालबालिकाहरू र अभिभावकको अनुपस्थितिमा हुने सामाजिक सञ्जालको प्रयोगबाट साइबर जङ्की, जुभिनाइल प्रेचरहरूले चायल्ड पोर्नोग्राफी जस्ता अवाञ्छित उद्देश्यको लागि दूरुपयोग गरेको घटनाहरूपनि सार्वजनिक भएका छन् । इन्टरनेटको बढ्दो प्रयोगको तुलनामा यसको नियन्त्रण र सन्तुलनको असन्तुलनको कारण नेपाल साइबर अपराधको मलिलो भूमिमा रूपान्तरण हुन गएको छ ।

हामीसंग यसलाई सम्बोधन गर्न दक्ष जनशक्ति मात्र नभई कानूनको पनि अभाव छ । हाल प्रयोगमा रहेको विद्युतीय कारोबार ऐन, २०६३ साइबर अपराध नियन्त्रणको लागि नभई अन्य प्रयोजनको लागि बनेको र प्रस्तावित आइटी बिलमा पनि साइबर अपराध नियन्त्रणका प्रभावकारी प्रावधानहरू नभएको अवस्थामा संसद् विघटनको राजनीतिसंगै यो विधेयकपनि अलपत्र परेको अवस्थामा साइबर अपराध नियन्त्रण नेपालको लागि फलामको च्यूरा साबित भएको छ । साइबर अपराध अनुसन्धान गर्ने दक्ष अनुसन्धानकर्ता, कुशल अभियोजनकर्ता र विशेषज्ञ न्यायाधीश एवं साइबर अदालतको अभावमा दैनान्दिन बढ्दै गइरहेको इन्टरनेटको दूरुपयोग ठूलो चुनौति बन्न पुगेको छ ।  

लकडाउन जस्तो एकान्तबासमा रहँदा स्मार्ट फोन, आइप्याड, ट्याब्लेट, कम्प्युटर जस्ता विद्युतीय उपकरणहरू व्यक्तिको नजिकको साथीको बन्न पुगेका छन् । यस्तो एकान्त अवस्थामा इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग पनि बढी भइरहेको पाइन्छ । सामाजिक सञ्जालको उपयोग गलत उद्देश्य लागि हुनु, टेक्नोलोजीलाई लक्ष्य (टार्गेट) र माध्यम (मिन्स) को रूपमा प्रयोग गरी आपराधिक कृयाकलापहरू घट्नु, फिसिङ, ह्याकिङ, क्र्याकिङ, साइबर आक्रमण, साइबर आतंक, साइबर बुलिङ, पहिचानमा हेराफेरी (आइडेन्टिटी थेफ्ट) जस्ता अभ्यास बढ्दै गएको पाइन्छ । पोर्नोग्राफी र बैकिङ फ्रड जस्ता घटनाहरूमा विदेशी नागरिकहरूको संलग्नता पनि हालैका दिनहरूमा हामीले अनुभव गरेका छौँ । 

सामाजिक सञ्जालको दुरुपयोग :

विश्वमा सन् १९६० देखि कम्प्युटरको व्यक्तिगत प्रयोग बढेको, १९९० मा इन्टरनेट सञ्जाल फेलिएको र २००४ मा फेसबुक र २००६ मा ट्वीटरको आगमनसंगै सामाजिक सञ्जालको तीव्रता बढेको देखिन्छ । नेपालमा सन् १९९३ देखि इन्टरनेटको प्रयोग विस्तार भए तापनि सन् २००६ देखि फेसबुक, स्काइप, लिंकड्इन जस्ता एप्लिकेसनहरूको विस्तारसंगै सामाजिक सञ्जाल प्रयोगकर्ता बढिरहेका छन् । नेपालमा लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसनहरूमा फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्वीटर, व्हट्सएप प्रमुख रहेका छन् । एक अध्ययन अनुसार नेपालमा सबैभन्दा लोकप्रिय फेसबुक एपका प्रयोगकर्ता सन् २०२१ मा कूल जनसंख्याको चालिस प्रतिशत अर्थात सवा एककरोड पुगेका, अर्को लोकप्रीय एप्लिकेसन युटुबमा झण्डै ३ अर्ब भिडियो अपलोड गरिएको पाइएको छ । यस्ता साइटको प्रयोग गर्ने साठी प्रतिशत जति पुरुष रहेका र झण्डै आधा संख्या २५ देखि ३४ वर्ष उमेर समूहका रहेको देखिन्छ । यसबाट युवावर्ग सामाजिक सञ्जालमा धेरै समय आबद्ध हुने गरेको देखिएको छ । युवा वर्गको अधिक संलग्नताका कारण सामाजिक सञ्जालको प्रयोगमा नियमनको औचित्य पनि पुष्टि गर्दछ ।

साइबर अपराध वा कम्प्युटरजन्य अपराध गैरकानूनी लाभ हानीको उद्देश्यले गर्ने कार्य हो । बढ्दो इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोगबाट पीडितलाई अपुरणीय क्षति पुग्न सक्दछ । करकाप, एकान्त वा वाध्यतामा भएका संवाद वा विचार आदान प्रदानको दुरुपयोग पीडित व्यक्तिको प्रतिष्ठा, इज्जत र सम्मानलाई आघात पु¥याउने गरी भएको पाइन्छ । यस्ता गोपनीय संवादहरूको सार्वजनिकीकरणले पीडितको मनोविज्ञानमा गम्भीर विचलन आइ पीडितमा सामाजिक हिंसा, मानसिक समस्या देखा पर्नुका साथै आत्महत्याका घटनासमेत भएको छ । यसबाट समग्र समाजमा अपुरणीय क्षति पुगेको देखिन्छ ।  

कानूनी पक्ष :

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको गलत अभ्यास गरेर सामाजिक सन्जालमा आफूलाई मन नपरेको व्यक्ति, संस्था र समूहलाई अनावश्यक लाञ्छना र गाली गर्ने, कुण्ठा पोख्ने र क्रुर अभिव्यक्ति दिने गरेको पाइन्छ । कतिपय अवस्थामा मृत्यु नहुँदै श्रद्धाञ्जली दिने, छद्यम नाम र परिचय बनाउने, रुखो र तीतो प्रतिक्रिया व्यक्त गर्ने गरेको देखिन्छ । यस्तै अश्लील तस्वीर शेयर गर्ने, धम्क्याउने, डर र त्रास देखाउने पनि गरेको देखिन्छ । हालका कतिपय युवायुवती सामाजिक सञ्जालको कुलतमा परेका पनि छन् । सामाजिक सञ्जाल सूचना तथा अभिव्यक्ति शेयर गर्ने प्रभावकारी माध्यम भएप नि कतिपय अवस्थामा यसको दुरुपयोग विकृति र अपराधजन्य क्रियाकलापमा पनि हुन पुगेको छ । सरकारी तथा सार्वजनिक निकायहरूले आफ्ना सूचना संप्रेषण गर्न र पृष्ठपोषण लिन फेसबुक, ट्वीटर जस्ता साइटहरू सञ्चालनमा ल्याएका छन् । कार्यालयको आधिकारिक साइटमा आवश्यक जानकारीहरू राख्न त्यसबाट सहज सूचना प्राप्त गर्न सजिलो भएको छ । कार्यालयसंग सम्बन्धित कतिपय गुनासाहरू पनि समाधान भएको पाइन्छ । जसले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराएको छ भने सूचनाको भरपर्दो माध्यम पनि बनेको छ । तर यसको दुरुपयोगको तस्वीर योभन्दा भयानक पाइन्छ । 

व्यक्तिको व्यवहारले उसको व्यक्तित्व दर्शाउँछ । सामाजिक व्यवहार अन्तरमनबाट उब्जिने स्वभाविक प्रकृया पनि हो । सामान्यतया मानवीय व्यवहार परिस्थिति र चरित्रको संयोग हो । मानवीय व्यवहारलाई धेरै तत्वहरूले मापन गर्ने गर्दछन् । व्यक्तिको शारीरिक, भौतिक अवस्था, व्यक्तित्व र संवेगात्मक अवस्था, वातावरणीय परिस्थिति तथा आवश्यकताजन्य अवस्थाले व्यक्तिको व्यवहार निर्धारण गर्दछ । व्यक्तिले एकान्तमा गर्ने व्यवहार र समाजमा गर्ने व्यवहार फरक–फरक हुन्छ । व्यक्तिगत र सामाजिक व्यवहारको सन्तुलनबाट व्यक्तित्व निर्धारण हुन्छ । साइबरजन्य अपराधका कारण व्यक्तिको अनपेक्षित चरित्र उद्घाटन गराउने प्रयास हुन्छ जुन ज्यादै हानीकारक कुरा हो । 

नेपालमा इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग रोक्न विभिन्न प्रयासहरू नभएका भने होइनन् । नेपाल प्रहरीमा साइबर अपराधको अनुसन्धानका लागि छुट्टै ब्युरोसमेत गठन भएको भएपनि डरलाग्दो रूपमा इन्टरनेटमा आधारित अपराध बढ्दै गएको छ । सूचना प्रविधिको दुरुपयोगबाट हुने अपराधमा धेरैजसो महिला, बालबालिका तथा जोखिम समूहका व्यक्तिहरू पीडित हुने गरेका छन् । यस्तो अपराधको सिकार भएका अधिकांश युवतीहरूमा मानसिक पीडा, सामाजिक र व्यक्तिगत सम्बन्धविच्छेद, डिप्रेशन र ज्यान गुमाउने सम्मका घटना भएका छन् । 
नेपालमा विद्युतीय कारोबार ऐन, २०६३ बहाल रहेको छ  । ऐनको दफा ४७ ले कम्प्युटर इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति  घृणा, द्बेश फैलाउने वा साम्प्रदायिक सद्भाव खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एकलाख रुपैयाँ जरिबाना तथा पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था रहेको छ । त्यस्तै दफा ४८ र ४९ मा पनि गोपनियता भंग गरेमा र झुट्टा बेहोराको सूचना दिएमा पनि एकलाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

सूचना प्रविधि र साइबर अपराध नियमित गर्नको निम्ति सरकारले नयाँ सूचना प्रविधि विधेयक संसदमा दर्ता गरे तापनि त्यो पारित हुन सकेको छैन । खासगरी सामाजिक सञ्जाल साइटहरू नेपालमा दर्ता हुनुपर्ने, कतिपय साइटहरूलाई रोक लगाउन सकिने र सामाजिक सञ्जालको निर्वाध प्रयोगलाई नियन्त्रित गर्नेजस्ता प्रावधानहरू लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने जिकिर गरेर प्रस्तावित विधेयकको चौतर्फी विरोध भएको अवस्था छ । सामाजिक सञ्जालको प्रयोगमा आएको विस्तारसँगै नयाँ कानून तर्जुमा गर्नु भने अति आवश्यक रहेको देखिन्छ । 
लोकतान्त्रिक व्यवस्था, खुला समाज र प्रविधिको बढ्दो प्रयोग प्रयोगसँगै इन्टरनेट र साइबरसम्बन्धी आपराधिक कृयाकलापमा बढोत्तरी भै रहेको छ । सन् २०१९ देखि नै विश्वलाई नै आक्रान्त पार्ने कोरोना महामारीको संक्रणको अवस्थामा इन्टरनेटको प्रयोग व्यापक हुनका साथै यससंग सम्बन्धित अपराधिक घटनाहरू पनि बढ्दै गइरहेका छन् । आगामी समयमा इन्टरनेटको दुरुपयोग नियन्त्रण गर्न थप बलियो कानून र सक्षम नियामक संरचना निर्माण गरेर अघि बढ्न आवश्यक छ । यसका साथै जनचेतनामा अभिवृद्धि, सहज कानूनी प्रबन्ध र साइबर सुरक्षाको प्रावधान सँगसँगै अघि बढाउन पनि आवश्यक छ ।