शुक्रवार , आषाढ २५, २०७८
भैरहवा, २५ असार ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राजस्व छली गरी अवैध रुपमा सञ्चालन गरिएका १५ वटा भारतीय नम्बर प्लेटका सवारीसानधलाई नियन्त्रणमा लिएको छ । राजस्व छली गरेको सूचनाका आधारमा प्रहरीले बिहीबार हिउँसो १ बजे देखि ५ बजेसम्ममा बुटवलका विभिन्न स्थानबाट १५ वटा गाडीलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट तरकारी तथा फलफूल लिएर आएका ती गाडीले भन्सार छलेर बुटवल हुँदैपुर्वतर्फ जाँदै गरेको अवस्थामा बुटवलको जितगढीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरीले नियन्त्रणमा ल्याएका ती मालबाहक गाडी र त्यसका चालकलाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको थापाले जानकारी दिए ।
ती गाडीले भन्सारबाट छुट्दा कम तौल देखाएर बाहिरिएको प्रहरीले जनाएको छ । नियमविपरीत संचालनमा ल्याई बढी तौल भएका १५ वटा सवारीसाधन, बिल भरपाई, मध्य पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij