२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

किसानको सपना साकार पार्दै माडी लुंग्री कोरीडोर सिंचाई आयोजना

शुक्रवार , आषाढ २५, २०७८

रोल्पा, २५ असार । 
केही वर्ष अघिसम्म रोल्पा र प्यूठान जिल्लाका माडी लुंग्री कोरीडोरका  फाँटहरु अधिकांश बाँझै देखिन्थे, ती फाँटहरुको फेंदैबाट बग्ने माडी र लुंग्री खोलाको पानी हेरेर किसानहरु कहिले निराश हुन्थे त कहिले खिन्नता प्रकट गर्थे । कहिले उनीहरु मनमनै कल्पना गर्थे—त्यो पानी माथि तानेर ल्याउने कुनै उपाय भए हाम्रा यि गराहरु हराभरा हुन्थे, अनि कहिले त सपना पनि देख्थे-ती खेतबारीहरुमा लहलह फलेका खाद्यान्न र तरकारी अनि फलफुलहरु, आज त्यो कल्पना पुरा भएको छ, ती सपनाहरु साकार हुँदै गएका छन् ।

ती किसानहरुका कल्पना पुरा गर्ने र उनीहरुले देखेका सपना साकार पार्ने काम माडी लुंग्री कोरीडोर सिंचाई आयोजनाले गरेको छ । रोल्पा र प्यूठान जिल्लामा रहेका माडी र लुंग्री दुई नदीहरुका आसपासका कृषियोग्य जमिनमा मझौला तथा वैकल्पिक प्रविधिबाट सिंचाई सेवा व्यवस्था गर्ने उद्देश्यले यो आयोजनाको स्थापना भएपछि ती सपना पुरा हुने भएको हो ।

दुवै जिल्लामा सिंचाई डिभिजन कार्यालयहरु हुँदाहुँदै पनि यहाँका खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्ने सम्बन्धमा प्रयाप्त ध्यान नपुगेपछि सरकारले मझौला तथा नयाँ प्रविधिमा आधारित सतही तथा लिफ्ट सिस्टमबाट सिंचाई सुविधा उपलब्ध गराई, खाद्यान्न उत्पादन वृद्धि गरी जनतालाई आत्मनिर्भर बनाउने लक्षसहित यो आयोजनाको स्थापना गरिएको हो ।

2.JPG

माडी र लुंग्री आसपासका क्षेत्रमा प्रशस्त उर्वरभूमी रहेको तर सिंचाई अभावमा बाँझै रहन गइ कृषि उत्पादनमा क्रमश ः ह्रास आउँदै गएकोले खेतीयोग्य जमिनमा नविनतम प्रबिधिको प्रयोग गरी मध्यमस्तरको व्यवस्थित सिंचाई प्रणालीमार्फत खाद्यान्नसहित तरकारी र फलफुल लगायतको कृषिको विकास गरी जनताको जीवनस्तर उकास्ने आयोजनाको मूल लक्ष्य रहेको जनाइएको छ । 

सिंचाई सुविधा प्रदान गरी किसानलाई कृषि कर्मतर्फ आकर्षित गर्ने, कृषिलाई आधुनिकरण र प्राविधिकरण गरी व्यवसायीकरण र बजारीकरणमा समेत टेवा पुर्याउने आयोजनाको अर्को लक्ष्य रहेको छ । आयोजनाका अनुसार बाँझो जमिन हराभरा बनाउने, जमिनको उर्वराशक्ति बढाउने, कृषिजन्य उत्पादन गरी खाद्यान्न आयात घटाउने र गरिबी निवारणमा टेवा पुयाई तीव्र रुपले बढिरहेको बसाईसराई रोक्ने लगायतका विभिन्न उद्देश्यहरु पनि रहेका छन् ।

खास गरी परम्परागत सतह सिंचाई प्रणालीको सुधार तथा पुनःर्संरचना, तालपोखरी, जलाशय तथा स्थानीय खोला नालाहरुमा जल संचय गरी सिंचाई सेवा विस्तार गर्ने, भूमिगत स्यालो तथा डीप ट्युवेल, अन्तर जलाधार जल स्थानान्तरण गर्ने, लिफ्ट सिंचाई, थोपा सिंचाई फोहोरा सिंचाई जस्ता नयाँ प्रविधिहरुको विकास गरी योजनाबद्ध र भरपर्दो सिंचाई सेवाको विस्तारका लागि सिंचाई विभागले २०७४ सालमा माडी लुंग्री कोरीडोर सिंचाई आयोजनाको स्थापना गरेको हो । 

विगतमा संघीय सरकार सिंचाई मन्त्रालय अन्तर्गत स्थापना भए पनि हाल लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत यो आयोजना संचालनमा छ । स्थापना कालदेखि हालसम्म आयोजनाले करिब ११ वटा लिफ्ट सिंचाई योजना सम्पन्न गरिसकेको छ भने चालु आर्थिक बर्षमा मात्रै ४ वटा लिफ्ट सिंचाई र साना सतह सिंचाइका करिब १४ वटा योजना सम्पन्न गर्न सफल भएको छ ।  आव २०७८।७९ का लागि ६ वटा लिफ्ट र ६ मझौला सतह सिंचाइ योजनाका प्रस्तावहरु स्वीकृत भएका छन । चालु आ.व.मा सुरु भएका लिफ्ट सिंचाई योजनामा २ वटा चालु अवस्थामा रहेको र बाँकी योजनापनि छिट्टै संचालनमा आउने गरी अन्तिम तयारीमा रहेको माडी लुंग्री कोरीडोर सिंचाई आयोजना कार्यालय रोल्पाले जनाएको छ । हालसम्म ३ आर्थिक बर्षमा १५ करोड रुपैयाँ बजेट सो आयोजनाले खर्च गरेको आयोजना प्रमुख भरत प्रसाद सापकोटाले बताए ।

आयोजना प्रमुख सापकोटाका अनुसार रोल्पाको सुनिल स्मृति गाँउपालिका वडा नम्बर १ स्थित घोडेखोला सिंचाई योजना अन्तर्गत सतह सिंचाई योजना सम्पन्न भइ संचालनमा आएको छ । प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर ६ र ८ मा खैरेनी सिंचाई आयोजना, रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित उपल्लोसिंम घर्तिटोल सिंचाई योजना, स्वर्गद्धारी नगरपालिका वडा नम्बर ६ र ८ मापोखरी डाँडा सिंचाई योजना र सुनिल स्मृति–७ मा जुतुंगखोला सिंचाई योजना पनि सम्पन्न भइसकेका छन् । यस आर्थिक बर्षमा क्रमागत योजना, नयाँ योजना र मर्मत संभार समेत गरी १९ वटा योजनामा काम भएको कार्यालयले जानकारी गराएको छ । 

3.JPG

आयोजना प्रमुख सापकोटाका अनुसार लिफ्ट सिंचाईतर्फ ४ वटा योजना सम्पन्न भएका छन् । हरिगाँउ लामाचौर लिफ्ट सिंचाई योजना र धाईरेचौर लिफ्ट सिंचाई योजना सम्पन्न भइ संचालनमा आइसकेका छन् । त्यसै गरी स्वर्गद्धारी–४ स्थित तल्लो भिंग्री लिफ्ट सिंचाई, स्वर्गद्धारी–८ स्थित बुढीदमार लिफ्ट सिंचाई योजनाहरु सम्पन्न भइ संचालनमा आउने अन्तिम तयारीमा रहेका छन् । अन्य मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिंचाई योजनाहरु पनि सम्पन्न भइ संचालन भएको कार्यालयले जनाएको छ । 

माडी लुंग्री कोरीडोर सिंचाई आयोजना अन्तर्गत सिंचाई योजनाहरु सम्पन्न भएपछि आकाशे पानीको भरमा कृषियोग्य जमिनको आंशिक रुपमा उपयोग गर्दै आएको सयौं किसानहरु प्रत्यक्ष रुपमा लाभांवित भएका छन् । केही समय अघिसम्म बाँझै पल्टेका सयौं रोपनी खेतबारीहरु अहिले हराभरा हुन थालेकोले खुशी लाग्न थालेको स्थानीयहरु बताउँछन् । खाद्यान्न तथा तरकारी उत्पादनमा वृद्धि भएको र यसबाट सयौं किसानहरु प्रत्यक्ष रुपले लाभान्वित भएको उनीहरु बताउँछन् । नयाँ प्रविधि र नमुना योजनाहरु सम्पन्न भएकोसंगै किसानहरु उत्साहका साथ त्यसको सदुपयोगमा जुटेको र आगामी दिनमा पनि सो आयोजनाबाट धेरै उत्कृष्ट कार्यहरु हुने अपेक्षा गरेको स्थानीय नागरिक र जनप्रतिनिधिहरुको साझा धारणा रहेको छ । 

उक्तक्षेत्रको योजनाबद्ध र भरपर्दो विकासका लागि आव २०७४/०७५बाट सुरु भएको माडी लुंग्री कोरीडोर सिंचाई आयोजना निकै प्रभावकारी भएको आयोजना प्रमुख सापकोटाको भनाइ छ । स्थापनाको तेस्रो वर्षमै आयोजनाले २५ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको उल्लेख गर्दै आयोजना प्रमुख सापकोटाले २२ सय हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य रहेकोमा हालसम्म ५ सय हेक्टर जमिनमा सिंचाई सुविधा पुगिसकेको बताएका छन् ।

आयोजनाको उद्देश्य पुरा गर्न र लक्ष्य हासिल गर्न आयोजना प्रमुखसहित अरु प्राविधिकहरु पनि दिनरात खटिइरहेका छन् । स्थानीय किसान, समाजका अगुवाहरु र जनप्रतिनिधिहरुसंग समन्वय र सहकार्य गर्दै आयोजनाले आफ्ना गतिविधिहरु संचालन गरेको छ । प्रत्यक्ष सरोकार राख्ने स्थानीय नागरिकबाट आयोजनालाई सहयोग पुगिरहेको र नयाँ प्रविधिको सिंचाई भएकोले विशेष चासोका साथ हेरिएको सव इञ्जिनियरद्वय विरेन्द्र चन्द र राजकुमार चौधरीको भनाइ छ । 

5.JPG

रोल्पा र प्यूठान जिल्लाको माडी र लुंग्री कोरीडोर क्षेत्रमा प्रशस्त खेतीयोग्य तर सिंचाई अभावमा तड्पिरहेका ठूलाठूला टारहरु रहेको अवस्थामा कृषि उत्पादनमा पनि प्रचुर सम्भावना रहेको छ । विकासका दृष्टिले यहाँका जनताहरु धेरै टाढा रहेको हुनाले जनचाहना अनुसार वैकल्पिक प्रविधि अनुरुप सिंचाई कार्य बढाई जीवनस्तर उकास्न आयोजना तथा मन्त्रालयले यसै आवमा तयार गर्दै गरेको गुरुयोजनाको पुर्ण कार्यान्वयन गरी आवश्यक बजेट व्यवस्था हुनुपर्ने र प्रभावकारी कार्यान्वयनले मात्र गुरुयोजनाको उद्देश्य पुरा हुने देखिन्छ । 

निकट भविष्यमा गुरुयोजना बन्नेछ, गुरुयोजना तदारुकताका साथ कार्यान्वयन हुनेछ, गुरुयोजना पुरा हुनासाथ माडी लुंग्री कोरीडोर आसपासको क्षेत्रले काँचुली फेर्नेछ । समृद्ध नेपाल निर्माणमा एउटा आशाको दियो बल्नेछ । विकासको नमुना बन्नेछ । यस क्षेत्रका जनता, नेता, सामाजिक अगुवाहरु, बुद्धिजीवी बर्ग सबैको उद्देश्य पुरा हुनेछ, आशा गरौं लक्ष हासिल हुनेछ । विश्वास गरौं सपना साकार हुनेछ र भरोसा गरौं कल्पना अवश्य पनि वास्तविकतामा परिणत हुनेछ । 

6.jpg