२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

नेपाल शिक्षक महासंघ धुर्कोटद्वारा गाउँपालिकामा धर्ना कार्यक्रम सम्पन्न

शुक्रवार , आषाढ १८, २०७८

गुल्मी, १८ असार ।
नेपाल शिक्षक महासंघ धुर्कोट गाउँ कार्यसमितिले आफ्ना मागहरु पुरा नगरेको भन्दै गाउँपालिकामा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक महासंघ केन्द्रिय समितिको असार १० गतेको निर्णय अनुसार शिक्षक, कर्मचारी र बाल िवकासका मुद्दामा विभिन्न आन्दोलन मध्ये आज गाउँपालिका परिसरमा धर्ना कार्यक्रम गरेको हो ।

शिक्षक, विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरु समाज र विद्यार्थीहरुसँग सिधै सम्पर्कमा रहने भएको हुदाँ यथाशिघ्र कोरोनाविरुद्धको खोपको अनिवार्य सुनिश्चितता हुनुपर्ने, विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुको तलब भत्ता बृद्धि गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलन गरेको हो । शिक्षक महासंघले राखेका न्यायोचित माग पुरा नगरेको हुँदा बाध्य भएर आन्दोलनमा होमिनुपरेको धुर्कोट गाउँपालिका शिक्षक महासंघ अध्यक्ष ऋषिराम पाण्डेले बताए ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले शिक्षकहरुका सम्पुर्ण माग जायज भएकोले आफुले पनि ऐक्यबद्धता जनाउदै सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उक्त आन्दोलन निरन्तर चलिरहने र भोलि धुर्कोट गाउँपालिकाका सम्पुर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबीच अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघ धुर्कोट गाउँ कार्यसमिति अर्थ सचिव राजु पछाईले जानकारी दिए ।