
बिहिवार , आषाढ १७, २०७८
गुल्मी, १७ असार ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुभारम्भ भएको छ । एक कार्यक्रमकाबीच धुर्कोट गाउँपालिका स्वास्थ्य संयोजक प्रेम खनालको एक्स–रे गरी सेवाको शुभारम्भ गरिएको हो । ग्रामिण क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै गाउँगाउँमा स्थानीय सरकार रहेको महसुस आम नागरिकमा गराउनको लागि र स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनु र्ने बाध्यता हटाउनको लागि आधारभुत आवश्यकतामध्ये एक्स–रे सेवा सुरु गरिएको हो ।
उक्त स्वास्थ्य केन्द्रले अहिले ओपिडी सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, इसीजी सेवा, ल्याब सम्बन्धि सेवाहरु, स्वास्थ्य बीमा कार्यक्रम र एक्स–रे सेवा लगायतका सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रका प्रमुख जनक पाठकले बताए । त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले अब छिट्टै नै भिडियो एक्स–रे सेवा पनि सञ्चालन गरिने बताए ।
कार्यक्रममा बोल्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले स्थानीयस्तरमा नै आधारभुत सेवा प्रदान गर्न र जनतासंग गरेको वाचा पुरा गर्न सदरमुकाममा दिइने सेवाहरु यस प्राथमिक केन्द्रबाट नै सञ्चालन गरिएको बताए । उनले सेवा लिन नागरिकलाई आग्रह गरे । गाउँपालिका अध्यक्ष पोख्रेलले अबको २ बर्ष भित्रमा १५ सैयाको अत्याधुनिक अस्पताल निमार्ण गरिने पनि बताए । त्यस्तै महिला स्वयंसेविकाहरुको लागि यस वर्षबाट कल्याणकारी कोषको स्थापना गरिने बताए ।
धुर्कोट गाउँपालिका उपाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर खत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष एवं स्वास्थ्य केन्द्रका संरक्षक भुपाल पोख्रेलको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख जनक पाठक, धुर्कोट गाउँपालिका स्वास्थ्य सह–संयोजक सुनिता सारु लगायतकोे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालको स्वागत तथा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव बाबुराम कुवँरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij