
बुधवार , आषाढ १६, २०७८
काठमाडौं, १६ असार ।
पछिल्लो २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना कोरोना संक्रमित भेटिएका छन् । चार हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमण दर २६ प्रतिशत पुगेको छ ।
जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।
यस अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन हजार ५९७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेशनमा छन् । ३ हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना संक्रमणका कारण नौ हजार ११२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लाको संख्या १७ छ । पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढ्न थालेको तथ्यांकले देखाएको छ । मंगलबार संक्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा आज २५६ जनाले बढी थपिएका छन् । सोमबार दुई हजार ४४४ जना संक्रमित भेटिएका थिए । आइतबार एक हजार ९२० जनामा मात्र कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij