बुधवार , आषाढ १६, २०७८
दमौली, १६ असार ।
मंगलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।
लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । ‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,’ उनले भने ‘त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ । ’
उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसंग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न सुरु भएको उनले बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij